भारतलाई दबाबमा राखेर अर्धशतक प्रहार गरेका आसिफ आउट

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत भारतविरूद्ध नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भएका छन्। उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए।

उनी पाँचौ विकेटको रुपमा आउट हुँदा नेपालले २९.५ ‌ओभरमा १३२ रन जोडेको थियो।

अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए। शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गरेका थिए।

भुर्तेलको पहिलो ओ‌भरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए।

खेलमा कुशल मल्ल चौथो विकेटको रुपमा २ रनमै आउट भएका थिए। कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा ५ रनमा बोल्ड भए। भीम सार्की पनि ७ रनमा भारतका रविन्द्र जडेजाको बलमा १६ ओ‌भरमा बोल्ड भए।

बलिङमा भारतका जडेजाले ३ विकेट लिए।