कोशी सरकार विरुद्धको रिटमाथि आज पनि सुनुवाइ हुँदै

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।

सोमवार पूर्ण इजलासमा सुनुवाइ शुरु गरिएको उक्त रिट निवेदनमाथि बहस जारी रहेकाले ‘हेर्दाहेर्दै’मा राखिएको थियो । आईतवार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिट निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

सोही आदेश अनुसार सोमवार न्यायाधीशहरु सपना प्रधान मल्ल, डा। कुमार चुँडाल र नहकुल सुवेदीसहितको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ शुरु भएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले समेत मत दिएपछि विवाद उत्पन्न भएको थियो । विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो ।