डाक्टर कुट्नेलाई तुरुन्त कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाक्टरमाथि आक्रमण गर्नेलाई तुरुन्त कारबाही गर्ने बताएका छन्।

हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै भेट्न आएका नेपाल चिकित्सक संघका प्रतिनिधिलाई प्रधानमन्त्री प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेले उन्मुक्ति नपाउने बताए।

प्रधानमन्त्री प्रचण्डले त्यसका लागि प्रहरीलाई निर्देशनसमेत दिइसकेको बताए। भेटमा प्रधानमन्त्री प्रचण्डले चिकित्सकमाथिको आक्रमण कुनै पनि हालतमा सह्य नहुने भन्दै दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए।

चिकित्सकलाई आक्रमण गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै चिकित्सक संघका अध्यक्ष डा अनिलबिक्रम कार्की, महासचिव डा सन्जिव तिवारी लगाएतको टोली प्रधानमन्त्री प्रचण्डलाई भेट्न गएको थियो।

यसैबीच, हेटौंडा उपमहानगरपालिका-२ स्थित सन्चो अस्पतालका दुई चिकित्सकमाथि कुटपिट भएको घटनामा चार जना पक्राउ परेका छन्। हेटौंडा-१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट गर्ने चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई पक्राउ गरेको हो। गत साउन २५ गते हेटौंडा-१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। राजेशलाई डेंगीका कारण निमोनियाको समस्या देखिएको थियो।सुरूमा उनलाई साउन २२ गते सन्चो अस्पतालमै लगिएको थियो।

स्वास्थ्य अवस्था गम्भीर देखिएपछि चिकित्सकले बिरामीलाई आइसियूमा राखेर उपचार गर्न सुझाव दिएका थिए। तर आफन्तले वार्डमा राखेर उपचार गर्ने कुरा गरेको चिकित्सकको भनाई छ। पछि हेरचाह राम्रो हुने भन्दै बिरामीलाई एचडियूमा राखिएको थियो।

तर उपचारको पहिलो रातमै बिरामीको अवस्था थप जटिल भएपछि साउन २३ गते उनलाई चितवन मेडिकल कलेज रिफर गरिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

राजेशको मृत्यु भएपछि पीडितका आफन्त भोलिपल्टै सन्चो अस्पतालमा पुगेका थिए। तर बिरामीको अवस्थाबारे जानकारी गराएपछि उनीहरू फर्किएका थिए। त्यसैबीच बुधबार मृतकका आफन्तले दुई चिकित्सकमाथि कुटपिट गरेका हुन्।