काठमाडौं । सरकारले गत आर्थिक वर्षमा काम सम्पन्न भएका आयोजनाको बाँकी रकम निर्माण व्यवसायीलाई भुक्तानी सुरु गरेको छ। सरकारले दसैँपछि अहिलेसम्म तीन अर्ब बराबर रकम भुक्तानी गरेको छ।
निर्माण व्यवसायीले रकम भुक्तानी नभएसम्म काम नगर्ने अडानसहित काम रोकेर आन्दोलनमा भित्रिएपछि सरकारले बाँकी रकम भुक्तानी गर्ने जनाए बमोजिम सरकारले रकमान्तर गरेर भुक्तानी प्रक्रियालाई निरन्तरता दिँदै आएको जनाएको छ।
बाँकी भुक्तानी रकम सरकारले दसैँअघि नै उपलब्ध गराउने जनाएपछि अझै पुरै रकम उपलब्ध नगराएको निर्माण व्यवसायीले गुनासो गरेका छन्।“सरकारले गत आर्थिक वर्षको बाँकी रकम नै भुक्तानी गर्न सकेको छैन। चालु आर्थिक वर्षमा कसरी काम लगाउने भन्ने समस्या छ”, अध्यक्ष सिंहले भन्नुभयो, “विभिन्न आयोजनामा सप्लायर गर्ने सप्लायर्सको रकम बाँकी नै रहेकाले सप्लायर्सले सामान सप्लाई गर्न सक्दैनन्, कर्मचारीलाई मासिक तलब दिन सकिँदैन। कसरी काम गर्ने ?”
अर्थ मन्त्रालयबाट रकमान्तर गरेर बाँकी भुक्तानी दिने भनिए पनि केही जटिलता आएका कारण पुरै भुक्तानी हुन नसकेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालको भनाइ छ। उहाँका अनुसार गत आर्थिक वर्षको बाँकी रकम भुक्तानी गर्दा चालु आर्थिक वर्षको लागि आयोजनामा विनियोजित बजेटसमेत सकिएको छ।
उहाँले भन्नुभयो, “गत आर्थिक वर्षको बाँकी रकम अहिले भुक्तानी गर्नुपर्ने भएकाले चालु आर्थिक वर्षका लागि विनियोजित रकमसमेत सकिएको छ। कसरी काम लगाउने भन्ने समस्या भएको छ।”
विनियोजन बजेटअन्तर्गत नै रहेर गत आर्थिक वर्षको बाँकी भुक्तानी रकम वितरण गरिएकाले अहिले समस्या भएको छ। कतिपय आयोजनामा बजेट नै नभएकाले कसरी अघि बढाउने भन्ने समस्या भएको उहाँको भनाइ छ।
निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी प्रक्रियागत रूपमा भइरहेको सरकारी अधिकारीले जनाएका छन् । अर्थ मन्त्रालयका सूचना अधिकारी भूपालराज शाक्यका अनुसार सरकारले निर्माण व्यवसायीलाई तिर्नुपर्ने बाँकी रकम भुक्तानी गर्दै गएको छ। उहाँले भन्नुभयो, “अर्थमन्त्रलयले रकमान्तर गर्न मन्त्रालयबाट आएका प्रस्ताव सबै सदर गरेको छ। सम्बन्धी मन्त्रालयले भुक्तानी पनि गर्दै गएका छन्।” प्रक्रिया पूरा गरेर सबै रकम भुक्तानी गर्ने काम भइरहेको उहाँको भनाइ छ।
Add Comment