नेपालमा काेराेनाकाे दाेस्राे लहर आउने सम्भावना कति ?

काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सह–प्रवक्ता समिरकुमार अधिकारीले पछिल्ला दिनमा सङ्क्रमण पुष्टि हुने दर बढेको भन्दै सावधानी अपनाउनुपर्ने बताए ।

भारतमा नयाँ भेरिएन्टसहित नयाँ लहर देखा पर्नु र नेपालमा पनि सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढ्दै जानुले नयाँ लहरको सम्भावना उच्च रहेको मन्त्रालयले जनाएको छ । प्रेस ब्रिफिङमा काठमाण्डौ विश्वविद्यालयकी सह–प्राध्यापक डाक्टर अर्चना श्रेष्ठले जोखिम बढेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न र जोखिम वर्गको ख्याल गर्न आग्रह गरिन ।

त्यस्तै स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमण फैलिने जोखिम रहेको भन्दै फागु पूर्णिमा अर्थात् होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । सह–प्रवक्ता अधिकारीले सङ्क्रमणको अवस्था बढेमा लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै होली मनाउँदा भेला नभइ घरपरिवारमा सीमित गर्न आग्रह गरे ।

त्यस्तै गृह मन्त्रालयले पनि सबै जिल्ला प्रसाशन कार्यालयलाई जमघट रोक्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर भिडभाड नगर्न आग्रह गरेपछि त्यहीअनुसार भिडभाड हुने र धेरै मानिस जमघट हुने कार्यक्रम बन्द गराउन भनेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । समूहमा होली पर्व मनाउने, अरू भेला गरेमा प्रहरीले कारबाही गर्ने पनि उनले बताए ।