माओवादी जिल्ला कमिटी सदस्यमाथि गोली प्रहार

कपिलवस्तु  ।  नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि बुधबार राति करिब ११ बजेतिर गोली प्रहार भएको छ । तौलिहवा–जितपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । उनको पेट र बायाँतिरको कम्मरको हड्डीमा दुईवटा गोली लागेको प्रहरीले जनाएको छ । पाण्डेसँगै मोटरसाइकलमा सवार भारतीय नागरिक इराज अख्तर मुलसमानको पाखुरामा गोली लागेको छ ।

तौलिहवातर्फ जादै गरेका पाण्डेलाई एउटा मोटरसाइकलमा आएका ३ जनाको समूहले मोटरसाइकल रोकेर गोली हानेको अधिकारीले बताए । घाइते पाण्डेलाई उपचारका लागि डीएसपी धर्मराज भण्डारीले बुटवल लगेका थिए । बुटवलका अस्पतालमा कतै भर्ना नलिएपछि भैरहवा लगेर बिहीबार बिहान ३ मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको छ । कान्तिपुर दैनिकबाट ।