बयलगाढामै उपचार गर्न सकिन्थ्यो भने कति मजा हुन्थ्याे ?

गरिबहरूले अस्पतालमा बेड पाउँदैनन् । धनीहरू बेड रिजर्भ गरेर राखिरहेका छन् । बयलगाढामै राखेर गरिबको उपचार गर्न सकिन्थ्यो भने कति मजा हुन्थ्याे हाेला ?  बयलगाढामा बसेका बिरामीकै ठाउँमा डाक्टर आउँथे उपचार गर्थे काइदा हुँदैनथ्यो र ?   मजदुर, साना तथा खुद्रा व्यावसाय गर्ने, होटल रेष्टुराँमा काम गर्नेहरू भोकले छटपाटाए पनि सरकारलाई  भने संसदकाे अंकगणिबाट फुर्सद छैन  । शहर बस्न नसक्ने अवस्था भएपछि धेरै मजदुर झिटीगुण्टा बोकेर आ–आफ्नो गाउँमा लागिसकेका छन् । उनीहरूका लागि शहरमा खाने र बस्ने आधार नै सकिएपछि मजदुर सहरमा बसून् पनि कसरी ?   सहयोगका लागि कुनै सहारा नै नभएपछि  महामारीमा सबैभन्दा ठूलो मारमा मजदुरहरू  छन् ।

अन्य राम्रा पेशामा भएका, सरकारी रोजगारी, सबल बैंक तथा वित्तीय संस्थाका कामदारले खान र बस्नकै निम्ति अप्ठ्यारो भोग्नुपरेको छैन । खानका निम्ति पनि समस्या छैन ।  अस्पताल, औषधिको व्यापार गर्नेलाई फाइदा नै पुगेको छ । समाजका उच्च वर्गका व्यक्तिलाई महामारीमा पनि स्वाथ्यको पहुँच छ । कोभिड–१९ यो दोस्रो लहरमा पहुँचवालाले घरमै अक्सिजन जोहो गरेका खबर सार्वजनिक भइरहेका छन् । उनीहरुले लागि निजी अस्पतालले शय्या (बेड) सुरक्षित गरेर राखेका छन् ।

महामारीका बेला धनी वर्गका कयौँले अस्पतालको बेड नै बुकिङ गराएको अवस्था छ । तर, गरिबले न आफ्नो ज्यान बचाउने प्राणवायु पाउने अवस्था छ न त अस्पतालको बेड नै । वयलगाढामा उपचार सम्भव हुने भए सायद गरिबले उपचार पाउँथे ।   बल्लतल्ल बेड पाइहाले पनि खर्चले धान्न सक्ने अवस्था छैन । मजदुरलाई दैनिक गुजारा गर्न मुस्किल छ । निम्न वर्गका मजदुरलाई बिहान–बेलुका खान र बस्नकै विकराल समस्या छ । कोरोना भाइरसको सङ्क्रमण भइहाले उपचार गर्न सक्ने अवस्था छैन, काम गर्ने मजदुरले खोप लगाउनसमेत  पाएका छैनन् । दैनिक तलब पाउन नसकेपछि शहरमा घरभाडा तिर्न सक्ने अवस्था छैन । घरबेटीले छुट दिँदैनन् । कयौँलाई आफ्नो गाउँको घर जान सक्ने अवस्था छैन । काठमाडौँ उपत्यका नजिकका जिल्लाबाट शहरमा मजदुरी गर्न आएकाहरू रातारात घर पुगेका छन् ।  यस्ताे चुनाैतीका बेला सरकार र राजनीतिक दलका नेताहरू विवादै विवादको कचिङ्गलमा फसेका छन् । मजदुरको उपचारको प्रश्न त परको भयाे । त्यसैले भन्न मन लाग्छ कास बयलगाढामै उपाचार पाइन्थ्याे भने ?