झलमल्ल छ ब्रह्माण्ड एउटै चन्द्र-सूर्यले

निर्मोही व्यास
हो ‘अक्षर’ परब्रह्म ज्ञानामृत–तरङ्गिणी
बाँसुरी एक, गुञ्जिन्छन् हजारौँ राग–रागिनी
यौटै देह, सयौँ नृत्य गर्छन् किन्नर–किन्नरी
भँगालो एक, लाखौँको तिर्खा मेट्तछ निर्झरी
00
झलमल्ल छ ब्रह्माण्ड एउटै चन्द्र–सूर्यले
विराट् सृष्टि चलेको छ यौटै दैवीय वीर्यले
यौटै बादलले वृष्टि गर्छ मूसलधारले
अकेली धरती थाम्छिन्–पाल्छिन् संसार प्यारले
00
छिन् जगन्मोहिनी यौटै इन्द्रेणी सप्तरङ्गिणी
ॐ यौटै नादमा अट्छन् सबै साङ्गीतिक ध्वनि
यौटै प्रदीपले नास्छ अँध्यारोको चुरीफुरी
यौटै मियो घुमी गोरु गर्छन् दाइँ मुरीमुरी
00
एउटै सृष्टिको बीज, एकबाटै अनेक छ
सिन्धुमा विन्दुझैँ फेरि अनेकौँभित्र एक छ
अनन्त सृजना गर्दै भई निश्चिन्त निर्भय
जगत् यो अन्त्यमा आई हुने हो एकमै लय
00
एक हो मूल,हुन् शाखा-प्रशाखा यसका अरू
या एक परमात्मा हो,जीवात्मा हुन् अरूहरू
गाऔँ,गाइरहौँ जत्ति हौसिई जिन्दगीभरि
एकको महिमा गाई सिद्धिँदैन कसैगरी