माधव नेपालको पार्टीलाई साथ नदिन एमालेले दियो जनप्रतिनिधिलाई निर्देशन

काठमाडाैं । नेकपा एमालेले अन्तरपार्टी निर्देशन जारी गरेर पार्टी विभाजनको गतिविधिमा साथ नदिन जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।

एमालेको भदौ ८ को स्थायी कमिटी र १० गतेको केन्द्रीय कमिटी बैठकको निर्णय जानकारी दिन अन्तरपार्टी निर्देशन–१२ जारी गरिएको हो । 

‘पार्टी विभाजनको दूराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्न सक्ने प्रावधान राखिएको छ । अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानूनी प्रतिवाद गर्ने निर्णय गरेको छ,’ अपानि–१२ मा भनिएको छ ।

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशले २१ दिन भित्रमा दल रोज्न पाउने व्यवस्था भए पनि त्यसबाट प्रभावित नहुन एमालेले जनप्रतिनिधिहरूलाई निर्देशित गरेको छ । 

‘२१ दिनसम्म प्रदेश सभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिधिहरूलाई बैठकले निर्देशित गरेको छ,’ अपानि–१२ मा उल्लेख गरिएको छ ।