अघि बढ्दै रातमाटे केरुङ अन्तरदेशीय प्रसारण लाइन

काठमार्डौ । नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको रातमाटे रसुवागढी केरुङ अन्तरदेशीय प्रसारण लाइनले ३ हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्नसक्ने अनुमान गरिएको छ । विद्युत् विकास विभागबाट ५ हजार मेगावाट क्षमता बराबरको बिजुली प्रवाहका लागि अनुमति पाए पनि ‘लोड फ्लो’ अध्ययन गर्दा पहिलो चरणमा ३ हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्न सकिने देखिएको छ । अध्ययनअनुसार सो प्रसारण लाइन उच्च क्षमताको हुने अनुमान रहेको छ ।

आगामी भदौसम्म वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकेर प्रसारण लाइन निर्माणमा जान सकिने बताइएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको बताइएका छन् । आयोजना प्रमुख कोमलनाथ आत्रेयका अनुसार रातमाटे रसुवागढी केरुङ अन्तरदेशीय प्रसारण लाइन नाम दिइएको सो आयोजनाको नेपालतर्फको क्षमता ४०० केभी डबल सर्किटको बताएका छन् ।

चीनतर्फ भने ५०० केभी डबल सर्किटको हुने बताए । सो आयोजनामा प्राधिकरणको आयोजना विकास विभागले काम गरिरहे पनि नेपाल र चीनका संयुक्त प्राविधिक समूहको बैठक बस्न नसक्दा विस्तृत परियोजना प्रतिवेदन डिपीआरमा बाँकी रहेका केही काम सम्पन्न हुन नसकेको बताएका छन् । दुवै देशका प्राविधिकले स्थलगतरुपमा अध्ययन गरेर सम्पन्न गर्नुपर्ने काम बाँकी रहेकाले संयुक्त रूपमा ‘लोड फ्लो टेस्ट’ र डीपीआरको काम भने हुन नसकेको बताउछन् ।

नेपालतर्फको काम भने अन्तिम चरणमा पुगेको भएपनि संयुक्तरुपमा गर्नुपर्ने काम कोरोनाको असर कम हुँदै गएपछि अगाडि बढ्ने सक्ने विश्वास लिइएको बताएका छन् । चिनियाँ पक्षले जिलोङ काउन्टीमा सवस्टेशन निर्माण गरिरहेको जानकारी नेपाली पक्षलाई गराएको छ । नेपालतर्फ भने लोडफ्लो टेस्टको काम सकिए पनि संयुक्त लोडफ्लोको काम गर्न बाँकी छ । सो काम स्टेट ग्रिड अफ चाइनाले गर्नेभएको छ ।

नेपालतर्फको अध्ययनअनुसार अन्तरदेशीय प्रसारण लाइन निर्माण भएपछि नेपाल र चीनबीच ३ हजार मेगावाट बराबरको बिजुली आयात निर्यात गर्न सकिने अनुमान छ । आयोजनामा कूल २०८ टावर जडान गरिने छ । प्रसारण लाइनको नेपालतर्फको खण्ड ७० किलोमिटर बराबर छ । प्रसारण लाइनको लागत रु १० अर्ब बराबर रहने प्रारम्भिक अनुमान गरिएको छ ।