जग्गा ठगी प्रकरणमा : वडा अध्यक्ष र मालपोत कार्यालयका कर्मचारीसँग स्पष्टीकरण माग

काठमार्डौ । सङ्खुवासभाको भोटखोला गाउँपालिका ४ को जग्गा ठगी प्रकरणमा मालपोत कार्यालयका नायब सुब्बा महेन्द्र पराजुलीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टीकरण माग गरेको छ ।

भोटखोला गाउँपालिका ४ का वडाध्यक्ष किन्साङ भोटे र मालपोत कार्यालयका नायब सुब्बा पराजुरीसहितको टोलीलाई स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ । ऊनहिरुले जग्गाधनीलाई पत्तो नदिई जग्गा रजिष्ट्रेशन पास गरेपछि आयोगले नायब सुब्बा पराजुलीसँग स्पष्टीकरण माग गरेको हो ।

कागज गरेर मालपोतका नायव सुब्बा पराजुलीको संलग्नतामा जग्गा रजिष्ट्रेशन पास भएको भन्दै आयोगले उहाँसँग स्पष्टीकरण मागेको मालपोत कार्यालय सङ्खुवासभाका प्रमुख चन्द्र मिश्रले जानकारी दिएको छ । अख्तियारले लिखित स्पष्टीकरण मागेपछि कार्यालयले लिखित जवाफ पठाइएको मालपोत प्रमुख मिश्रले बताएका छन् ।

जग्गा ठगी प्रकरणमा मालपोतका कर्मचारीसँग बयान लिने क्रम जारी

जग्गा ठगी प्रकरणमा मालपोत कर्मचारीसँग बयान लिने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताएको छ । मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा प्रहरीले वडाध्यक्ष भोटे, सोही वडाका कल्पना भोटे, सुरेन्द्र तामाङ, ङिमा लाजुङ भोटे, खाँदबारी१ का हाल मालपोल कार्यालय खाँदबारीमा कार्यरत महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका–४ घर भाई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपलिकाका पासाङ शेर्पालाई पक्राउ गरेको थियो । कीर्ते कागज बनाएर स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा आफन्तको नाममा पास गरेको आरोपमा पक्राउ परेका उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

वृद्धभत्ताको कागज भन्दै औँठा छाप लगाउन लगाई तामाङको फागुन १ मा नागरिकताको प्रतिलिपिसमेत निकालियो । आफ्नो नाममा आएलगत्तै २७५ कित्ताको जग्गा पासाङ शेर्पा र २८० कित्ताको जग्गा कल्पना भोटे र डिमालाजुङ भोटेको नाममा संयुक्त पास गरिएको विममायालाई पत्तै छैन । कल्पनाको हकमा लेखापढी व्यवसायी अनिश गुरुङको नाममा वारेस पास भएको छ । वारेसनामाको कागजपत्र नक्कली भएको प्रहरीले पुष्टि गरेको छ । मालपोतमा जग्गा पास भइसकेपछि सुरेन्द्रले वृद्धभत्ता भन्दै विममायालाई रु २० हजार दिएको पीडितको भनाइ छ ।

विममायाको नाममा जग्गा नामसारी गर्न वडाध्यक्ष भोटेले सदरमुकाममा बसेर नागरिकताको प्रतिलिपि, घरबाटो प्रमाणित, जग्गा नामसारीको सिफारिस बनाएका थिए । बिक्री भएको २ कित्तामध्ये २७५ नम्बरको जग्गा फागुन १६ मा पासाङबाट कविता पराजुलीको नाममा रजिष्ट्रेशन पास गरिएको छ ।

प्रमुख प्रहरी लालध्वज सुवेदीका अनुसार उनीहरूले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा मात्रै झुक्याएर पास गरिएको देखिएको छ  । अन्य चार कित्ता भने विममायाकै नाममा सुरक्षित रहेको । मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गाको केवल १ लाखको थैली राखेर पास गरिएको र जग्गा धनी विममायालाई रु २० हजार मात्रै दिइएको प्रहरी अनुसन्धानले देखाएको छ ।

पीडित विममायाले जग्गा फिर्ता गरिदिन भन्दै जिल्ला प्रशासन कार्यालयमा फागुन २२ मा उजुरी दिएकी थिइन् । लगत्तै प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक छानबिन र अनुसन्धान गरी कारबाही गर्न सिफारिस पनि गरेको थियो ।

पक्राउ परेकालाई ठगी र किर्ते मुद्दा चलाउने प्रहरीले जानकारी गराएको छ । उक्त जग्गा १०६३ मेगावट क्षमताको अपर अरुण जलविद्युत् आयोजना निर्माण क्षेत्रमा रहेको छ । मुआब्जाबापत प्रतिरोपनी कम्तीमा ५ लाख निर्धारण गरेको छ । भोटखोला गाउँपालिकाको २, ४ र ५ नम्बर वडाका विभिन्न स्थानमा उक्त आयोजना निर्माणका लागि अध्ययन, जग्गा सर्भे र जग्गा प्राप्तिको काम तीव्र गतिमा बढेको हुनाले मुआब्जा धेरै आउने भएपछि यो अपराध भएको प्रहरीले बताएका छन् । विममायाको हातमा अहिले बाबुको मृत्युदर्ता प्रमाणसमेत छैन । वडाध्यक्ष भोटेबाटै मृत्युदर्ताको प्रमाण खोसिएको प्रहरीले बताएका छन् ।