गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच शिष्टाचार भेट

काठमडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा उनहरुका बीच नेपाल र चिनबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।

शिष्टाचार भेटमा गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर सरकार अब बजेट निर्माणको प्रक्रियामा लागेको बताएका छन् । चीनले शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि धन्यवाद दिँदै उनले आगामी दिनमा पनि शान्ति, स्थिरता, विकास र समृद्धिमा सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गरेका छन् ।

भेटमा राजदूत यान्छीले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनका दिन आफू निर्वाचन भइरहेका विभिन्न स्थानमा अवलोकनका लागि गएको र त्यहाँ जनता उत्साहित भएर निर्वाचनमा भाग लिइरहेको देख्दा खुसी लागेको पनि बताए । यान्छीले काठमाडौँबाट चीनको कुनमिङमा ३० मेबाट सिधा उडान गर्ने तयारी भएको जानकारी समेत गराएका छन् ।