भरतपुर महानगरपालिकामा ५५ हजार बढी मतगणना, रेनुलाई ३२६७ मतको अग्रता कायमै

काठमाडौँ । वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचन मा चितवनको भरतपुर महानगरपालिकामा ५५ हजार ६८० मतको गणना सकिएको छ । भरतपुरमा १ लाख २७ हजार ८३९ मत खसेको थियो ।

महानगरको वडा नं १ देखि १० सम्मको मतगणना सकिँदा ४६ हजार १२३ मतगणना सम्पन्न भएको छ । अहिले भरतपुरका वडा नं ११ र १२ मा मतगणना जारी रहेको छ । वडा नं ११ मा हालसम्म छ हजार ५८२ र वडा नं १२ मा दुई हजार ९७५ मतगणना गरिएको छ ।

महानगरको मतगणनाअनुसार पाँचदलीय गठबन्धनबाट प्रमुख र उपप्रमुखमा अग्रता कायम रहेको छ । प्रमुखमा गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार २६७ मतले अग्रता लिएकी छन् , भने उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार ३४३ मतका साथ अग्रता लिएका छन् । प्रमुखमा दाहालले २१ हजार ८५ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले १७ हजार ८१८ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २६ मत प्राप्त गरेका छन् ।

महानगरको उपप्रमुखमा अधिकारीले २३ हजार ४८७ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १४ हजार १४४ मत प्राप्त गरेकी छन् । मतगणना भइरहेका वडामा एमालेका उम्मेदवार अग्रस्थानमा रहेका छन् ।