मतगणनाको क्रममा भएको क्षति र फोहरका कारण विद्यालयको पढाई अवरुद्ध

काठमाडौँ । गत वैशाख ३० मा सम्पन स्थानीय तहको निर्वाचन मतगणनाको क्रममा भएको भौतिक क्षति तथा फोहरका कारण श्री नृसिंह माविको पठनपाठन अबरुद्ध भएको छ । मतगणनाका बेला खटिएका कर्मचारी, सुरक्षाकर्मी, उम्मेदवार र तिनका प्रतिनिधिबाट भएको भौतिक क्षतिको मर्मत सम्भार तथा फोहर व्यवस्थापन नहुँदा पठनपाठन हुन नसकेको हो ।

वीरगन्ज महानगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १ सय ६२ पदकालागि बैशाख ३० गते भएको मतदानपछि उक्त मतलाई गणना गर्न श्री नृसिंह माविलाई प्रयोग गरिएको थियो ।

मतगणना प्रकृयामा सहभागि भएकाहरुले विद्यालयको शौचालय, झ्याल, विजुलीको बोर्ड, पंखा, टेबल कुर्सीमा तोडफोड समेत गरेका छन् । विद्यालय परिसरभरी नै गुटखा, पान, खैनी थुकेर फोहर गरेको विद्यलायका प्रधानाध्यापक विनोद मेहताले जानकारी दिएका छन् ।

उनले मतगणनाका क्रममा विद्यलायको करिब १० लाख रुपैयाँको भौतिक क्षति भएको भन्दै पठन पाठन र विद्यार्थी भर्नामा समेतमा असर परेको बताएका छन् ।


विद्यालयमा भएको भौतिक क्षतिको सुची तयार पारी ब्रिग्रिएका तथा भत्किएका संरचनालाई र्ममत सम्भार गराईदिन सम्बन्धित निकायलाई पत्रचार गर्ने तयारीमा रहेको मेहताले जानकारी दिएका छन् ।