सांसद गजेन्द्र महतद्धारा सभामुख सापकोटालाई ताला चाबी बुझाए

काठमाडौँ । आजको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाएको छ । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरुप प्रतिकात्मक रुपमा सभामुखलाई ताला चाबी बुझाएको उनले बताए ।

तीन घण्टासम्म आफ्नो कुरा सुनाउनेले अर्काले बोल्ने बेला अवरोध गरेको सांसद महतको आरोप छ । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले आफ्नो धारणा राख्दा एमाले सांसदले अवरोध गरेका  थिए । विवाद बढ्दै गएपछि सभामुख सापकोटाले प्रयोग गरिएको अमर्यादित शब्द हटाउने निर्णय गर्नुपरेको थियो ।

सांसद महतले भने प्रतिपक्षीको व्यवहार हेर्दा बोल्न पाइँदैन कि भन्ने त्रासमा थिएँ । म अहिले पनि अलि मोटो र ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भन्ने चिन्तामै छु । उहाँहरु धित मरुञ्जेल तीन घण्टा गाली गर्नुहुन्छ । र धित मरिसकेपछि यसलाई अवरोध गर्न खोज्नुहुन्छ । फेरि ताला लगाउन खोज्नुहुन्छ ।

महतले आफूले ताला र चाबी ल्याएको बताए । उनले भने तपाईंहरु धित मरुञ्जेल बोल्नुहोला त्यसपछि हामी बोल्दा यो ताला र चाबी लगाइदिनुहोला । जतिबेला बोल्न मन लाग्छ आउनुहोला र यो ताला चाबी खोल्नुहोला अनि बोल्नुहोला । मैले सभामुखज्यूलाई बुझाएँ ।” गाली गर्नेलाई संसद्मा बोल्न तीन घण्टा र कर्णालीको आवाज बोल्नेलाई तीन मिनेट छुट्याइएकामा सांसद महतले आपत्ति प्रकट गरेका छन् ।