प्रस्तुत बजेटमाथि सांसद्हरुको सैद्धान्तिक छलफल : समतामूलक समाज निर्माणमा जोड

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथि विभिन्न सांसद्हरुले सैद्धान्तिक छलफलमा भइरहेको छ । बैठकमा नेकपा एमालेका योगेशकुमार भट्टराईले बजेटको गन्तव्य स्पष्ट नभइ चौबाटोमा उभिएकोले यसले मुलुकको हित नगर्ने धारणा राखेका छन् ।

उनले नेपाली समाजमा रहेको उत्पादित वस्तु र साधनको समतामूलक वितरण गरेर न्यायमूलक समाज निर्माण गरिनुपर्नेमा बजेट अल्मलिएको टिप्पणी गरेका छन् । एमालेकै शेरबहादुर तामाङले लक्ष्य नभएको बजेट आएको तथा बजेट आयातमुखी भएको बताए ।

नेपाली कांग्रेसका भरतकुमार साहले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कम देखिएकाले सो क्षेत्रको दायित्व निर्वाह गर्न कठिन हुने बताए । सोही पार्टीका विनोदकुमार चौधरीले प्रदेश र स्थानीय तहलाई जिम्मेवार बनाएर रोजगारी सिर्जनामा कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

नेकपा माओवादी केन्द्रका राम कार्कीले व्यक्तिको धारणामा परिवर्तन आएपछि मानिसलाई समतामूलक तुल्याउन सकिने बताउँदै नेपालमा विदेशी विकासको ढाँचा नभइ नेपालको आफ्नै परिवेश अनुसार कार्यान्वयन हुनुपर्ने बताए । नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले मिश्रित अर्थतन्त्रको स्थितिमा गठबन्धन सरकारले ल्याएको बजेट समग्र नेपाली समाजको संरचना र चिन्तनका आधारमा केन्द्रित रहेको बताए ।

उनले सबै प्रकारका गुठीको जमिनमा अहिले पनि शोषकहरुकै प्रभाव रहेकाले त्यसलाई मोहियानी हकसहित किसान र गरिबलाई वितरण गराउन आग्रह गरेका छन् । राष्ट्रिय जनता पार्टी, नेपालकी रेनुका गुरुङले प्रस्तुत बजेटले आम जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने, कर्मचारी, ज्येष्ठ नागरिक र किसानको हित गर्ने बताएका छन् । उनले करको दरमा वृद्धिले नागरिकलाई समस्या पर्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।