बाँकेमा ५ वर्षमा ४२ किलोमिटर पक्की सडक

काठमाडौँ । बाँकेको खजुरा गाउँपालिकामा पाँच वर्षको अवधिमा ४२ किलोमिटर पक्की सडक निर्माण भएको छ । सडक निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाएको र अन्य केही सडक निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिएका छन् ।

उनका अनुसार गाउँपालिकाले वार्षिकरुपमा १६ किमी पक्की सडक निर्माण गर्ने लक्ष्य लिए पनि कोरोना महामारीका कारण लक्ष्य भेटाउन कठिनाइ भएको छ । “स्थानीय सरकारसँग जनताको पहिलो अपेक्षा हिलाम्मे र धुलाम्मे हुने बाटाको स्तरोन्नति थियो । यसलाई बुझेर गाउँपालिकाले हरेक वर्ष १६ किमी सडक निर्माण र स्तरोन्नति गर्ने लक्ष्य निर्धारण ग¥यो”, उनले भने सडक निर्माणलाई गाउँपालिकाको गौरवकै योजनाका रुपमा अघि बढाएको खजुराले लिएको लक्ष्य भेट्टाउन कोरोना महामारीले अवरोध सिर्जना गरे पनि गाउँपालिकाले ५ वर्षमा ४२ किलोमिटर सडक पिच गरिसकेको छ भने अझै ८ किमी सडक निर्माण गर्ने योजना चलिरहेका छन् ।

गाउँपालिकाका ग्रामीण बस्तीभित्रका सडक पनि कालोपत्रे, पीसीसी र ग्राभेल गरिएका छन् । मुख्य सडकदेखि सहायक सडकको स्तरोन्नति गरिएको छ । सबै वडामा सडक र नाली निर्माण भएका छन् । खजुरा बजार क्षेत्रमा सडक डिभिजनले ४ लेन सडक निर्माण पनि धमाधम गरिरहेको छ । त्यसमा गाउँपालिकाले समन्वय गर्दै आइरहेको अधिकृत केसीको भनाइ रहेको छ ।

निर्वाचित जनप्रतिनिधि आइसकेपछि पूर्वाधारका क्षेत्रमा अत्यधिक काम भएको गाउँपालिकाले जानकारी दिएको छ ।  गाउँपालिका सडक विस्तार गर्न, स्तरोन्नति गर्न अन्य पालिकाभन्दा अब्बल रहेको गाउँपालिका योजना अधिकृत दिलबहादुर पौडेलले दाबी गरेका छन् ।