परीक्षामा दुई नक्कली परिक्षार्थी पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ स्थित एक विद्यालयमा प्रहरीले लोकसेवा र सवारी अनुमति पत्रको परीक्षामा सहभागी दुईजना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा महोतरीको अभय कुमार यादवको सट्टा परिक्षा दिएका पोखरा महानगरपालिका–२ का ४२ बर्षीय दिपेन्द्रप्रसाद बस्ताकोटी रहेका छन् ।

प्रहरीले उनको साथबाट ५८ हजार ५ सय रुपैंया, ४ जनाको नागरिकता, दुईवटा मोवाइल फोन र उनको आफ्नै नाममा रहेको चालक अनुमतिपत्र बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरि नायव उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिएका छन् ।

त्यसैगरी, हेटौंडा११ स्थित यातायात व्यवस्था कार्यालय हेटौंडाले लिईहेको मोटरसाइकलको सवारी चालक अनुमपति पत्रको परीक्षामा सहभागी नक्कली परिक्षार्थीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको बकैया गाउँपालिका ७ का टुकनाथ गौतमको ठाउँमा उनकै छोरा सन्तोष गौतमले परीक्षा दिएको पाइएपछि पक्राउ गरेको डिएसपी कार्कीले बताएका छन् । दुबै जनामाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।