नेपालीको औसत आयु नै थोरै भएकाले वृद्धभत्ताको उमेर घटाइएको हो : अर्थमन्त्री शर्मा

काठमाडौँ । नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । प्रतिनिधिसभाको बजेटको छलफलमा सांसदहरुले उठाएका प्रश्नको शुक्रबार जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले १५ औं आवधिक योजनाले निकालेको निष्कर्षअनुसार नेपाली औसत आयु ६९.७ वर्ष रहेको उल्लेख गर्दै सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरिएको बताएका छन् । यसभन्दा अघि ७० वर्षमा वृद्धभत्ता दिइँदै आएकोमा आगामी आर्थिक वर्षको नयाँ बजेटमा उमेर घटाएर ६८ वर्ष बनाइएको छ ।

नेपालको १५ औं आवधिक योजनाले निकालेको निष्कर्ष नेपालको औसत आयु ६९.७ वर्ष रहेछ । यो योजना आयोगले १५ औं योजनामा निकालेको तथ्यांक हो । त्यो भएकाले एउटा तल्लो वर्ग रहेको छ । उसको आयु कम नै हुने गरेको छ । त्यसलाई पनि सामाजिक सुरक्षामा ल्याउने उद्देश्यका साथ सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६८ वर्ष बनाइएको छ । विपन्न नागरिकहरूको सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरेको विषय छ ।

मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट सबै सरोकारवाला निकायहरुसँगको छलफल, सुझाव र योजनाका आधारमा बजेट ल्याएको बताएका छन् । अर्थशास्त्रीदेखि निजी क्षेत्रको समेत सुझाव समावेश गरेर बजेट ल्याएको शर्माको दाबी गरेका थिए । सबैको माग, सुझाव र छलफलको माध्यमबाट बजेट प्रस्तुत भएकाले बजेट सबैको स्वामित्व रहेको मन्त्री शर्माले बताएको छ ।