वर्षायाम सुरु भएसँगै गाईघाट बजार उच्च जोखिममा

काठमाडौँ । वर्षायाम सुरु भएसँगै गाईघाट बजार उच्च जोखिममा परेको छ । उदयपुरको त्रियुगा नगरपालिका–११ बरुवा नदीस्थित ढिम्कीको तटबन्धन समयमा पुनःनिर्माण नहुँदा गाईघाट बजार उच्च जोखिममा परेको हो । मर्मतसमेत दैनिक वर्षाको कारण नदीको बहाव बढ्दै जान थालेपछि जिल्लाको सदरमुकाम गाईघाट बजारसहित आसपासका क्षेत्र उच्च जोखिममा परेको छ ।

त्रियुगा–११ नंवर वडास्थित शिवालय टोल, साकेला टोल, ढिम्कीसहित आसपासका बस्ती क्षेत्रमा निर्माण गरिएको पुराना र कच्ची तटबन्धन तथा बाँध बर्षाको कारण भत्कन थालेको छ । अहिलेसम्म पनि यीनको मर्मत तथा पुनःनिर्माणमा कसैले चासो देखाएको देखिर्दैन ।

दैनिक वर्षाको कारण बरुवा नदीको बहाव निरन्तर बढ्न थालेपछि पुराना कच्ची बाँध तथा तटबन्धन भत्कने खतरा बढ्दै गएको कारण यस क्षेत्र आसपासका स्थानीय चिन्तित भएको ढिम्कीका जगत कार्कीले जानकारी गराएका छन् । तटबन्धन पुनःनिर्माण नै गर्नुपर्ने हो, तर मर्मत मात्रै गरिदिए पनि ढुक्क हुनुहुन्थ्यो । उनको भनाइ रहेको छ ।

बरुवा नदी नियन्त्रणका लागि निर्माण गरिएका पुराना बाँधको ढुङ्गा निस्कँदै बाँध खुल्न थालेको र बाँधको केही भागसमेत भत्कन थालेपछि शिवालय टोल, साकेला टोल र गाईघाट बजार क्षेत्रनै जोखिममा परेको साकेलाका राजकुमार राईले बताए । उनले भने तत्कालै यो समस्याप्रति सरोकारवालाको ध्यान जान जरुरी छ ।”

स्थानीयले स्थायीरुपमा पक्की बाँध निर्माण नर्गदा वर्सेनि बरुवा नदीको बाँध भत्कदै गएको र नदीले कटान गर्दै लगेको बताएका छन् । यसवर्ष पनि समयमा बाँध पुनःमर्मत नहुँदा अहिले गाईघाट बजारसहित आसपासका करिव दुई हजारभन्दा बढी घर उच्च जोखिममा परेको सङ्गमटोलका कर्णबहादुर बस्नेतले बताएका छन् । उनले भने सरकारले स्थायी प्रकृतिको बाँध निर्माणप्रति विशेष ध्यान दिनु जरुरी छ ।

बरुवा नदीमा निर्माण गरिएको पुरानो बाँधको तराजाली नै नष्ट भइसकेको, बाँध क्षेत्रका ढुङ्गासमेत हिउँदमा ट्र्याक्टर व्यावसायीले उत्खनन गर्ने गरेपछि वर्सेनि बरुवा नदीले बाँध भत्काउँदै आएको हो । दुई वर्षअघि पनि वर्षा लागेसँगै आएको बाढीले बरुवाको बाँध भत्काउन थालेपछि स्थानीय प्रशासन, नगर कार्यालय, नेपाली सेना, प्रहरीको टोलीले बोरामा बालुवा भरेर भत्किएका बाँध पुनःमर्मत गरेर गाईघाट क्षेत्र सुरक्षित गरिएको थियो ।

स्थानीयवासीले बाँस तथा बालुवामा बोरा राखेर बनाएको अस्थायी तटबन्धन दुई वर्षभन्दा बढी नटिक्ने गरेको गाईघाटका बृद्ध रत्नकुमार श्रेष्ठले बताए । अब बर्षा लागिसक्यो, बाँध मर्मत गर्न पनि समस्या होला, यसप्रति कस्ले ध्यान दिने खै उनले हालै नविनिर्वाचित जनप्रतिनिधिले तत्कालै चासो दिनुपर्ने गुनासो गरेका छन् ।

यसअघि पनि दुईपटक बरुवा नदीको बाँध फुटेर गाईघाट क्षेत्रमा नदी प्रवेश गर्दा करिव पाँचसय बासिन्दा विस्थापित भइसकेका छन् । यसपटक पनि वर्षा सुरु भैसक्दा तटबन्धन मर्मत एवं पुनःनिर्माणको कामले प्राथमिकता नपाउँदा गाईघाटका स्थानीय निकै त्रासमा बसेका छन् ।