दैनिक साढे ७ करोडको बिजुली निर्यात

काठमाडौँ । नेपालले दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात गर्न सुरु गरेको छ । बुधबार रातिदेखि नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज आईआईएक्समा नेपालका पाँच आयोजनाको कुल ३१२ मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।

बुधबार रातिदेखि बिहीबार मध्यरातसम्म छ हजार आठ सय मेगावाट घण्टा निर्यात हुने भएको छ । नेपालको बिजुलीले महँगो मूल्य पाइरहेको छ । बुधबार मध्यराति १२ बजेदेखि बिहीबार मध्य रातिसम्मका लागि प्रतियुनिट औसत भारतीय छ रुपियाँ ८८ पैसा ९११ रुपियाँ नेपाली०मा बिक्री भएको हो ।

यसअनुसार यो २४ घण्टामा छ हजार आठ सय मेगावाट घण्टा नेपालबाट बिजुली निर्यात हुने भएको हो । यो आँकडाअनुसार बिहीबार मात्रै सात करोड ४८ लाख ५४ हजार रुपियाँको बिजुली निर्यात भएको छ ।

आईआईएक्समा प्रत्येक १५ मिनेटका स्लटहरूमा विद्युत् बिक्री हुन्छ । डे अहेड मार्केट स्वरूपमा हुने आईआईएक्सको विद्युत् कारोबारमा प्रत्येक २४ घण्टाका लागि मात्र बोलकबोल हुने गर्छ । भारतमा नेपाली बिजुलीले रातिको समयमा अधिकतम मूल्य १९.२ रुपियाँसम्म र न्यूनतम छ रुपियाँ २० पैसासम्म मूल्य प्राप्त गर्दै आएकोे छ ।

भारतीय बजारमा शनिबार राति १२ बजेदेखि कालीगण्डकी जलविद्युत् आयोजनाको १४० मेगावाट, त्रिशूली र देवीघाटको ३७.७ मेगावाट आईआईएक्समा प्रतियुनिट औसत सात रुपियाँ चार पैसा भारुमा निर्यात हुन थालेको थियो ।

त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको बिजुली जेठ १८ गते रातिदेखि औसत भारतीय सात रुपियाँ ३० पैसामा पठाउन थालिएको थियो । मङ्गलबार मध्य रातिदेखि मस्र्याङ्दीको ६७ मेगावाट र बुधबार रातिदेखि मध्य मस्र्याङ्दीको ६८ मेगावाट बिजुली पनि निर्यात गर्न थालिएको हो । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार निजी क्षेत्रको लिखु–४ जलविद्युत् आयोजनाको ५२ मेगावाट बिजुली निर्यातका लागि प्रक्रिया सुरु भइसकेको छ ।

प्री–मनसुन सक्रिय भएसँगै वर्षात् बढेकाले नदीनालामा पानी बहाव बढ्दा चाहिनेभन्दा विद्युत् धेरै उत्पादन हुन थालेपछि भारत निर्यात थालिएको हो । प्राधिकरणले खुला बोलकबोलबाट पनि दुई सय मेगावाट विद्युत् भारतका अन्य खरिदकर्तालाई बिक्री गर्न प्रक्रिया थालेको छ ।

गोरखापत्रबाट