बलात्कृत बालिका होस्टाइल

काठमाडौँ । घरेलु कामदारको रूपमा रहेकी १४ वर्षीया बालिकाले बलात्कार मुद्दामा बयान फेरेकी छिन् । ललितपुरको एक घरमा काम गर्दै सरकारी विद्यालयमा पढ्ने ती बालिकाले प्रहरीसमक्ष घरधनीले लामो समयदेखि बलात्कार गरेको बताएकी थिइन् । सातदोबाटो वृत्तमा लिइएको प्रारम्भिक बयानकै शैलीमा १६ चैतमा उनले प्रहरी परिसर ललितपुरमा पनि आफूमाथि घरधनीका छोराले तीन वर्षयता बलत्कार र यौन हिंसा गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

प्रहरीमा जाहेरी दर्ता हुन नदिन आरोपित परिवारले सुरुदेखि नै पीडित बालिका र उनका परिवारलाई दबाब दिँदै आएका थिए । मुद्दा दर्तालगत्तै प्रहरीले घरधनी सुशील चटौतलाई पक्राउ गरेर थुनामा राखेपछि आरोपित परिवारले बालिकालाई होस्टाइल गराउने प्रयास गरिरहेको थियो । सुरुवाती दिनमै पीडितलाई होस्टाइल गराउने प्रयास भएको भन्दै बाल अधिकार परिषद्ले राष्ट्रिय मानव अधिकार आयोगलाई पत्र लेखेको थियो ।

पछिल्ला दिनमा पीडित बालिका नै आरोपितको परिवारसँगै गाडीमा अदालत आउने गरेको देखिएको सरकारी वकिल कार्यालय स्रोतको भनाइ छ । १६ जेठमा बालिका अदालतमा बयान दिने क्रममा बेहोस भएपछि उनलाई सिभिल अस्पताल पुर्‍याइएको थियो । १७ जेठमा अदालतमा बकपत्र दिने क्रममा भने बालिकाले प्रहरीमा दिएको बयान बदलिन् । उनले अदालतमा आफूलाई अभियुक्त सुशिल चटौतले बलत्कार नगरेको बरु उनको श्रीमतीले यातना दिएको बताइन् ।

अदालतका एक कर्मचारीले पीडित पक्ष नै प्रतिवादीको गाडीमा सँगै आएको दृश्यले नै आफुहरु अचम्मित भएको बताए । बारम्बार प्रतिवादी चटौतका आमा र परिवारका अन्य सदस्यसँगै बयानका लागि पीडित बालिका आउनुबाटै मुद्दा प्रभावित भएको सरकारी वकिलको कार्यालयको बुझाई छ ।

कान्तिपुरबाट