अचानक आगलागी हुँदा एक घर जलेर नष्ट

काठमाडौँ । जुम्मलामा गए राति अचानक आगलागी हुँदा तिला गाउँपालिका–८ को पुरुगाउँमा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गए राति ११ः३० बजे आगलागी भएको थियो ।

उक्त आगलागीबाट ढुङ्गा र माटोले बनेको दुईतले घर पूर्णरुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । घरभित्र रहेका भाडावर्तन, लत्ताकपडा, अन्नपात, २७ वटा खरायो, १० कुखुरा जली नष्ट भएको प्रहरीले जानकारी गराएको छ ।

प्रहरीका अनुसार आगो निभाउने क्रममा नेपाली सामान्य जली घाइते भएका छन् । प्रहरीचौकी रारालिही जुम्ला र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा मानवीय क्षति हुन जोगिएको प्रहरीकार्यलयको भनाइ छ ।