सुनकोसीमा महिलाका लागि पहिलोपटक रिभर गाईड तालिम

काठमाडौँ । सिन्धुपाल्चोकमा पहिलोपटक नेपाल पर्यटन वोर्डले नेपालमा महिलाका लागि जलयात्रा तालिम सुरु गरेको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीसँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत बुधबारदेखि बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिने महिला रिभर गाईड तालिम सुरु गरेको हो ।

रिभर गाईड तालिममा महिलालाई नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज नाराले निःशुल्क तालिम प्रदान गर्ने नेपाल पर्यटन वोर्डले जानकारी गराएको छ । तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सिइओ डा धनञ्जय रेग्मीले पहिलो पटक महिलाका लागि मात्र आयोजना गरिएको यो तालिमले जल पर्यटनको क्षेत्रमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको बताएका छन् ।

तालिमका रुपमा मात्र नलिई यस क्षेत्रमा नै आफ्नो भविष्य बनाउने गरी काम गर्न आग्रह गर्दै उनले बोर्डले आगामी दिनमा नारासँगको सहकार्यमा थप तालिमको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे । युएनडिपीकी कल्पना सरकारले कोभिड–१९ पछि पर्यटन मजदुर सबैभन्दा समस्यामा परेको भन्दै उनीहरुको जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको बताए । तालिमले महिला शक्तिकरण, रोजगारी सिर्जनासँगै यस क्षेत्रमा भएको जनशक्तिको कमीलाई परिपूर्ति गर्ने उनको भनाइ रहेको छ ।

नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज नाराका अध्यक्ष शिव अधिकारीले नेपालको इतिहासमै पहिलोपटक महिलालाई निःशुल्क रिभर गाईड उपलब्ध गराएर महिलाका लागि रोजगारीको ग्यारेन्टी गरिएको भन्दै खुसी व्यक्त गदै उनले नदी सफा र सुरक्षित राख्न गाउँपालिकालाई आग्रहसमेत गरेका छन् ।

कार्यक्रममा नाराका महासचिव नारायण श्रेष्ठले जलयात्रामा महिलाको सहभागिता न्यून रहेकाले युवाको आकर्षण बढाउन र महिलालाई आत्मनिर्भर बनाउने महत्वपूर्ण उद्देश्य बोकेर तालिमको आयोजना गरिएको बताए । यही असार १५ गतेसम्म चल्ने तालिममा ५३ महिला सहभागी रहेको नाराका उपाध्यक्ष शिशिर खनालले जानकारी दिइएका छन् । युएनडीपीले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यले अल्पकालीन रोजगार तथा तालिमका कार्यक्रम अगाडि बढाउँदै आएको छ ।