शैलुङ गाउँपालिकामा विद्युत् सर्ट भएर आगलागी, निस्सासिएर एकको मृत्यु

काठमाडौँ । दोलखा जिल्लाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुर्नेमा शैलुङ गाउँपालिका १ स्थित ८५ वर्षीया निदकुमारी मगर रहेका छन् ।

आज बिहानको समयमा उनको घरमा विद्युत् सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहेकी वृद्धाको मृत्यु भएको प्रहरीले जानकारी दिइएको छ । प्रहरीका अनुसार मगरको घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा निस्सासिएर मृत्यु भएको हो । घरको छुट्टै कोठामा वृद्धा एक्लै सुत्ने गरेको र घरमा आगलागी भएपछि स्थानीयवासीले उद्धारको प्रयास गरे पनि निसास्सिएर वृद्धाको मृत्यु भइसकेको स्थानीयवासीले बताएका छन् ।

आगलागीमा परी घर पूर्णरूपमा नष्ट भएको छ भने बाख्रा तथा कुखुरासमेत जलेर मरेका छन् । आगलागीबाट के–कति क्षति भयो भन्नेबारेमा विवरण सङ्कलन भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।