एक हजार पाँच सय पिन्ट रगत खपत, बिरामीलाई राहत

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्र टीकापुरमा १ हजार ५ सय पिन्ट रगत खपत भएको छ । केन्द्रले यस वर्ष टीकापुर अस्पतालमा उपचारमा आउने बिरामीका लागि रगत आपूर्ति गरेको हो । यसमध्ये केही पिन्ट रगत अन्य अस्पतालमा पनि लगिने गरिएको छ ।

दशक अघिदेखि रगत आपूर्ति गर्दै आएको रेडक्रसले अस्पतालमा आउने बिरामीलाई रगत आपूर्ति गर्दै आएको छ । रेडक्रसले रगत आपूर्ति गर्न थालेपछि अस्पतालमा आउने बिरामीले ठूलो राहत पाउन थालेका हुन् । रगत आपूर्ति सहज भएपछि अस्पतालमा शल्यक्रियाका बिरामी, सुत्केरी, रक्तअल्पताका बिरामी र सिकलसेलका बिरामीले राहत पाएका छन् ।

नागरिकको रगत लिने तर अरुलाई आवश्यक पर्दा नदिने बानीले बिरामीलाई चाहिने रगत आपूर्तिमा समस्या थपिँदै गएको रेडक्रस उपशाखा टीकापुरका रक्तसञ्चार केन्द्र संयोजक टेकराज विनाडीले बताए । हामीले रक्तदाताको लिस्ट बनाएर बोलाइ–बोलाइ रगत आपूर्ति गर्दै आएका छौँ, अभाव भएका बेला धेरैलाई अनुरोध गछौँ”, संयोजक विनाडीले भने । रगत दिएपछि मात्र पाइन्छ भन्ने सोच विकास हुन आवश्यक छ । हामीले हरेक उत्सव तथा कार्यक्रममा रक्तदान गर्न प्रोत्साहन गर्दै आएका छौँ ।

हरेक वर्ष नियमित रक्तदान गर्दै आएको संस्था सन्त निरंकारी मण्डलका केन्द्रीय प्रभारी नरबहादुर रावल रगत मानिसको जीवन बचाउनका लागि आवश्यक पर्ने भएकाले गर्दै आएको बताए । हामीले नागरिकलाई आवश्यक भएका बेला पनि गर्ने गरेका छौँ, नागरिकको भलाइ र जीवन बचाउनका लागि रगत नालीमा होइन नाडीमा बगाऔँ भन्ने सन्देश दिन रक्तदान गर्दै आएका छौँ”, उनले भने ।

टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारी रक्त सञ्चार केन्द्र अस्पतालमा आउने बिरामीको जीवन बचाउन गरेको कार्य सराहनीय रहेको बताउँदै सेवा थप विस्तारमा सबैको सहयोग रहनुपर्ने बताए । अस्पतालमा शल्यक्रियालगायतका सेवा लिन आउने बिरामीलाई धेरै राहत भएको छ । दिनहुँ रगत अभाव भएका बेला रेडक्रसले दिएको सेवाले राहत भएको छ , उनले भने मानिसको जीवन बचाउनका लागि सेवा नियमित र थप विस्तार हुन आवश्यक छ ।

नागरिकलाई रगत आपूर्तिमा सहजताका लागि कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिकाका केही वडा र जोशीपुर गाउँपालिकाले आफ्नो पालिकाका नागरिकलाई दुई पिन्ट रगत निःशुल्क दिने व्यवस्था मिलाएका छन् । यसरी मिलाइएको व्यवस्थाअनुसार ती स्थानीय तहले रेडक्रसमा लाग्ने शुल्क एकमुष्ट उपलब्ध गराउने गरेका छन् ।