विराटनगरको नाङ्गो रेष्टुरेन्टमा भीषण आगलागी

काठमाडौँ । विराटनगर महानगरपालिका वडा नम्बर २ स्थित तिनपैनीमा रहेको नाङ्गो मःम रेष्टुरेन्ट आगलागी भएको छ । ग्यास लिकेजका कारण भएको आगलागीका कारण रेष्टुरेन्ट जलेर नष्ट भएको हो।

स्थानीय ईश्वर बाँस्तोलाले सञ्चालन गरेको उक्त रेष्टुरेन्ट बाँसका सामाग्रीबाट निर्माण गरिएको थियो। जसकारण आगो सल्किएको आधा घण्टा नपुग्दै होटलमा पूर्ण रुपमा क्षति पुगेको छ।

आगलागी हुँदा होटलभित्र रहेका ६ वटा ग्यास सिलिण्डरसमेत पड्किएको छ। होटलमा भएको आगलागीका कारण उत्तरमा रहेको विनोद दुगड र दक्षिणमा रहेको अर्को पक्की घरमा समेत क्षति पुगेको छ। दुवै घरको बाहिरी परिसरबाट भेट्ने जति सीसाका झ्याल जलेका छन्। ढिलो गरि आएको वारुणयन्त्रको सहयोगमा हाल आगलागी पूर्ण नियन्त्रणमा आएको छ।

होटलमा आगो लाग्नासाथ स्थानीयले विराटनगरको वारुणयन्त्रलाई खबर गरेका थिए। तर, आगलागी भएको स्थानदेखि २०० मिटर उत्तरमा रहेको वारुणयन्त्र रेष्टुरेन्ट जलेर नष्ट भएपछिमात्र आएको थियो। होटलमा क्षति पुगेर आसपासका दुई घरमा आगो छिरिसक्दा मात्रै दमकल आएपछि आक्रोशित स्थानीयले विराटनगरका मेयर नागेश कोइरालाविरुद्ध नाराबाजीसमेत गरेका छन्।

मोरङका डीएसपी राजन कार्कीले आगो नियन्त्रणमा आएसँगै क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेको अन्नपूर्ण पोष्टलाई बताएका छन्। आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ ।