काठमाडौा । काभ्रेको बनेपामा आगामी भदौमा राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको आयोजना हुने भएको छ । नेपाल केनसिनकान कराते सङ्घले भदौ ४ गते शनिबार उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
उदयमान कराते खेलाडी उत्पादन तथा वर्तमान खेलाडीलाई प्रतियोगिताको माध्यमबाट आफ्नो क्षमता प्रदर्शनमा हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ३५, ४५, ५५ केजीमुनि र खुला तौल समूह तथा महिलातर्फ ३५, ५० केजीमुनि र खुला तौल समूह गरी जम्मा सात बजन समूहमा प्रतिस्पर्धा हुने सङ्घका महासचिव राजन खत्रीले जानकारी दिनुभयो ।
प्रतियोगितामा विभागीय टिम, विभिन्न कराते सङ्घ, डोजोलगायतका निकायबाट करिब २ सय ५० खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगितामा प्रत्येक वजन समूहमा प्रथम हुने खेलाडीलाई रु १५ हजार, द्वितीयलाई रु १० हजार र तृतीय हुने दुई खेलाडीलाई जनही ५ हजार नगद पुरस्कारसहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।
उक्त खेलमा महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कृत गरिने छ । प्रतियोगिता सञ्चालन गर्न विभिन्न पाँच समिति गठन भएका छन् । नेपाल फुल कन्ट्याक्ट कराते महासङ्घबाट प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका लागि रु १४ लाख ६५ हजार खर्च हुर्ने अनुमान गरेको छ।
Add Comment