शिक्षा मन्त्री पौडेल भन्छन्, विश्वविद्यालयमा राजनीति बन्द गरौं

चितवन । माओवादीका तर्फबाट शिक्षा मन्त्री बनेका देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा राजनीति वन्द गर्न आग्रह गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा पुगेर राजनीति बन्द गर्न आग्रह गर्नुभएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको १० वर्षे रणनीतिक योजनासम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले विभिन्न बहानामा विश्वविद्यालयमा तालाबन्दी हुनु दुखद भएको उल्लेख गर्नुभयो ।
सरकारले कृषिलाई विशेष प्राथमिकता दिइरहेकाले कृषि, वन तथा विज्ञान विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गरी बाह्य देशका विद्यार्थी अध्ययनका लागि यहाँ ल्याउने गरी संस्थाको सुदृढीकरणमा लाग्न मन्त्री पौडेलले आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले कृषि तथा वन विज्ञानको विश्वविद्यालयलाई आकर्षणको केन्द्रको रुपमा विकास गर्न अहिलेको पाठ्यक्रम परिवर्तन गर्नुपर्ने बताउनुभयो । विश्वविद्यालयलाई थप सुदृढीकरण गर्न कानुनमा सुधार गर्नुपर्ने भए संशोधन गरेर अगाडि बढ्न सकिने उहाँको भनाई थियो ।कार्यक्रमका विशिष्ट अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनको गहना भए पनि यहाँ हुने राजनीतिले मर्म अनुसार काम नभएको बताउनुभयो । मेयर दाहालले विश्वविद्यालयमा महिनौँसम्म तालाबन्दी हुनु दुखद भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष नारायणप्रसाद अधिकारी, कलेजका उपकुलपति डा पुण्यप्रसाद रेग्मी, नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, प्राध्यापक कल्याणी मिश्र लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।