एमालेको नजर साना दलतिर

काठमाडौँ । सहकार्यको विकल्प साँघुरो बन्दै गएपछि दबाबमा परेको एमाले चुनावी रणनीति निर्माणमा जुटेको छ । कांग्रेससहित पाँच दल र वाम–समाजवादी मोर्चासँग लड्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको एमालेले मंगलबार चुनाव केन्द्रित बैठक थालेको छ ।

मंगलबार बसेको एमाले स्थायी कमिटी बैठक ।
एमाले नेताहरूका अनुसार १ सय ६५ संघीय र ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रको शक्ति सन्तुलन विश्लेषण गर्दै रणनीति बनाउने, अन्य दलका असन्तुष्ट नेता–कार्यकर्ता भित्र्याउने र राप्रपा, नेकपा माले र जनता प्रगतिशील पार्टीसँग सहकार्य गर्नेलगायतका चुनावी रणनीतिमा काम भइरहेको छ । निर्वाचनमा राजनीतिक–वैचारिक रूपमा मेल खाने शक्तिसँग सहकार्य गर्ने सम्भावना टरेपछि एमालेले एक्लै लडेर बहुमत ल्याउने मनोवैज्ञानिक सन्देश प्रवाह गर्न खोजेको छ । मंगलबारको एमाले स्थायी कमिटी बैठकले आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउन चुनावी अभियान चलाउने निर्णय गरेको छ ।

एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एकल बहुमतको सरकार बनाउने रणनीतिसहित चुनावी अभियान चलाउने बताए । ‘आज एमाले कुन ठाउँमा छ, सत्तारूढ गठबन्धन के गर्दै छ र अरू दल के गर्दै छन्, हामी कसरी जान सक्छौं भन्नेलगायतका विषयमा अध्यक्षको प्रतिवेदन आउँछ’, बैठकपछि गुरुङले भने, ‘तर, आगामी सरकार एमालेको बहुमतको बनाउने विषयमा प्रतिवेदन आउँछ ।’ उनका अनुसार भदौ १० र ११ को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमा चुनावी रणनीति समेटिनेछ ।

अध्यक्ष ओलीले एमालेको एकल सरकार बनाउने नाराका साथ राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति, नेपालको शक्ति सन्तुलन, गठबन्धनको क्रियाकलापलगायत विषय समेटेर राजनीतिक प्रतिवेदन पेस गर्ने जानकारी बैठकमा गराएको स्थायी कमिटी सदस्य मणि थापाले बताए । उनका अनुसार बैठकमा गण्डकीबाहेकका ६ वटा प्रदेश अध्यक्षबाट चुनाव केन्द्रित रिपोर्टिङ गरिएको थियो । ‘आन्तरिक एकतालाई मजबुत नगर्दा स्थानीय निर्वाचनमा मत कम आएको हो तर पनि पाँचदलीय गठबन्धनको प्रतिस्पर्धामै छौं, पार्टीभित्रको अन्तरविरोधलाई हल गर्न सक्ने हो भने गठबन्धनभन्दा राम्रो सिट ल्याउन सकिन्छ भनेर उत्साहजनक रिपोर्टिङ भएको छ,’ स्थायी कमिटी सदस्य थापाले भने ।

केन्द्रमा गठबन्धन नगरे पनि जिल्ला तहमा आवश्यकताअनुसार तालमेल गर्ने एमालेको निर्णय छ । एमालले राप्रपा, माले र जनता प्रगतिशील पार्टीसँग सहकार्यका लागि वार्तासमेत गरिसकेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, माले अध्यक्ष सीपी मैनाली र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीसँग ओलीको भेट भइसकेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले एमालेसँग तालमेलको संवाद सकारात्मक भएको बताए । ‘केही दिनअघिको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सम्भावित राजनीतिक दलहरूसँग वार्ता–संवाद गर्न अध्यक्ष लिङ्देनलाई जिम्मा दिएको छ । त्यहीअनुसार एमाले अध्यक्ष ओलीसँग दुईरतीनपटक भेटघाट पनि भएको छ,’ उनले भने, ‘छलफल सकारात्मक दिशामा अगाडि बढिराखेको छ तर कसरी तालमेल हुन्छ भन्नेमा निष्कर्ष निस्केको छैन ।’

प्रतिनिधिसभा विघटनको निर्णयमा ओलीलाई साथ दिएको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० पछिल्लो समय एमालेसँग टाढिएको छ । एमाले नागरिता विधेयकको विपक्षमा उभिएपछि लोसपा एमालेसँग टाढिएको हो । एमाले उपमहासचिव गुरुङले सुशासन, समृद्धि, राष्ट्रिय स्वाधीनता, देशलाई बचाउने र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने अभियानमा जो–जोसँग एजेन्डा मिल्छ, उससँग चुनावी गठबन्धन हुने बताए । ‘तर बलजफ्ती हामीसँग मिल्न आउ भन्ने हुँदैन,’ उनले भने ।

एमालेले अन्य दलका असन्तुष्ट नेता–कार्यकर्ता प्रवेश गराएर चुनावका लागि शक्ति सञ्चय गर्ने रणनीति पनि बनाएको छ । त्यही रणनीतिअन्तर्गत पछिल्ला दिनमा ओलीद्वारा विभिन्न दलका नेता–कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने क्रम बढेको छ । उपमहासचिव गुरुङका अनुसार स्थायी कमिटी बैठकले पार्टी प्रवेश गरेकाहरूको व्यवस्थापन गर्ने र प्रवेशको लहरलाई निरन्तरता दिँदै उनीहरूलाई उपयुक्त जिम्मेवारी दिने निर्णय गरेको छ । ‘अहिले पार्टीमा विभिन्न दल छोडी प्रवेश गर्नेको लहर छ । यसलाई निरन्तरता दिन आवश्यक छ,’ गुरुङले भने ।

एमालेले गत स्थानीय निर्वाचनमा पनि यस्तै अभियान चलाएको थियो । स्थानीय निर्वाचनमा एमाले २०६ पालिका प्रमुखरअध्यक्ष जितेर दोस्रो दल बनेको छ । आगामी निर्वाचनमा एमालेले कांग्रेस, माओवादी, समाजवादी केन्द्र, जसपा र जनमोर्चाको गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । बाबुराम भट्टराई, वामदेव गौतमसहितका नेता समेटेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम–समाजवादी मोर्चाको अवधारणा अगाडि सारेका छन् । कान्तिपुरबाट