शो वितरणमा विभेद भएको ‘राधा’ हलमा कहिले लाग्छ ?

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शन भएको फिल्म, द सिक्रेट अफ राधाले आफ्नो प्रदर्शनी रोकेको छ। मंगलबार पत्रकार सम्मेलनमा शो वितरणमा विभेद भएको भन्दै फिल्मको निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको थियो ।

राधा फिल्म निर्देशक सुवर्ण थापाले अहिले हलमा नलाग्ने बताएका छन् । उनले भने, अहिले फिल्म पनि धमाधम आइरहेको छ। हामीले भर्खरै फिल्म हटाएका छौं। फिल्म हटाएपछि नयाँ तरिकाले जानु पर्ने हो कि के हो बुझ्दै छौं। पुरै सिस्टम के छ भनेर बुझेपछि मात्र फिल्म कहिले लाग्छ भन्ने थाहा हुन्छ। तर अहिले नै हलमा राधा नलाग्ने बताए ।

हामीले शो नपाएको प्रस्टै देखिएको छ। शो दिएपनि उचित समयमा शो टाइम छैन। कतिपय मानिसहरू बेलुका फिल्म हेर्न चाहनुहुन्छ तर हामीलाई बेलुकाको शो दिइएको थिएन। त्यसैले शोमा चित्त नबुझेर फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेका हौं, उनले भने, अब यो फिल्म हलमा कहिले लाग्छ भन्ने अन्यौलमा छ।

सौगात मल्ल, देवकी विष्ट र विक्रम दास जोशीको लगानी रहेको फिल्ममा सृष्टि श्रेष्ठ, सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुरस्कर गुरुङ, दयाहाङ राई र निश्चल बस्नेतलगायत कलाकारको अभिनय छ।