नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न दुई पक्राउ

काठमाडौँ । नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न रहेको आरोपमा २ थान नक्कली पेस्तोल र सोको ५ थान गोली सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका ६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र सोही ठाउँ बस्ने ४० वर्षीय अर्जुन कार्की रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका ३१ कात्यायनी मन्दिर नजिकबाट लुटपाट गरेको ३ थान मोबाइल, घटनामा प्रयोग भएको उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई डाँका कसूरमा आवश्यक कानूनी कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।