कञ्चनजङ्घा संरक्षण क्षेत्रमा चौँरी र याकको बीमा

काठमाडौँ । हिउँ चितुवा र ब्वाँसो हिमपहिराका कारणले सधै ठूलो क्षति व्यहोरिरहेको ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानलाई चौरी र याकको अबदेखि बीमा दाबी वापत क्षतिपूर्ति पाउने छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहजीकरणमा चौँरी याकको बीमा कार्यक्रम सुरु गरिएपछि किसानले बीमा दाबी क्षतिपूर्ति पाउने भएका हुन ।

ताप्लेजुङको दुर्गम र उच्च हिमाली बस्ती याङ्मा पशुपालनको मुख्य क्षेत्र हो । विगतदेखि नै हिउँ चितुवा, ब्वाँसो र हिमपहिराका कारणले किसानको ठूलो आर्थिक क्षति हुनबाट बच्नका लागि पशुबीमा कार्यक्रम सुरु गरिएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने यी क्षेत्रमा पशु बीमाका लागि नेको इन्स्योरेन्स फिदिम शाखाका प्रमुख जयराम बाँस्कोटाका अनुसार पहिलो चरणमा गएको हप्ता ओलाङ्चुङ्गोलामा तीन सय ८३ वटा चौँरीको बीमा गरिएको छ । ओलाङ्चुङ्गोला बस्ती वरिपरि र माथिल्लो गोठ क्षेत्रमा रहेको याक रचौरीहरुको बीमा गरिएको उहाँले बताउनुभयो । 

ताप्लेजुङ सदरमुकामबाट एक दिनको गाडी यात्रा र दुई दिनको पैदल दुरीमा रहेको ओलाङचुङ्गोलामा याक, चौँरी र डी गरी चार सय ५० वटा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा काम गरिरहेको समृद्ध पहाड परियोजनाका कार्यक्रम सहायक चितेन चेम्जोङले बताउनुभयो । ओलाङचुङ्गोलाकै याङ्मा, फक्ताङलुङ गाउँपालिकाको घुन्सा र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा पशुहरुको बीमा गर्नका लागि नेको बीमा कम्पनीले सुरुवात गरेको हो । अहिले ओलाङचुङ्गोलामा करिब चार सय ५० वटा, याङ्मा क्षेत्रमा पाँच सय, घुन्सा क्षेत्रमा चार सय र याम्फुदिन क्षेत्रमा करिब दुई सय गरी कञ्चनजङ्घा संरक्षण क्षेत्रमा करिब एक हजार नौ सय पशुपालन रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्अन्तर्गत सञ्चालनमा रहेको समृद्ध कञ्चनजङ्घाका कार्यक्रम संयोजक चित्राकुमारी चंसुले बताउनुभयो । 

उहाँका अनुसार पशुबीमा कार्यक्रमका लागि सो परियोजनामार्फत प्रति पशु रु २०० को दरले प्राविधिक खर्च उपलब्ध गराएको छ । विगतमा सो क्षेत्रमा पशुबीमाका लागि बीमा कम्पनीहरु जान मानेको थिएन । उहाँले भन्नुयो, “भौगोलिक रुपमा दुर्गम भएको र सो क्षेत्रमा जाँदा प्राविधिक खर्च महँगो हुने भएकाले बीमा कम्पनी जान नसकिने बताउँदै आएको थियो । सो समस्यालाई समाधान गरी दुर्गम क्षेत्रहरुमा रहेको पशुहरुलाई पनि बीमा पहुँचमा पु¥याउने उद्देश्यका साथ सहयोग गरेका छौँ ।” परियोजनाले आर्थिक वर्ष २०७९/८० मा सात सय वटा पशुका लागि बीमामा प्राविधिक सहयोग गर्ने र आगामी दिनमा यो सहयोग निरन्तर रहने परियोजनाले जनाएको छ । 

नेको इन्स्योरेन्सका अनुसार ओलाङचुङ्गोला, याङ्मा, घुन्सा र याम्फुदिन क्षेत्रमा पनि थप बीमा गरिनेछ तर त्यसका लागि कति सङ्ख्यामा पशुपालक किसानले बीमा गर्छन् । त्यसअनुसार मात्र काम गरिने कम्पनीको योजना छ । ठूलो सङ्ख्यामा पशुहरु बीमा गरेको खण्डमा मात्रै त्यहाँसम्म पुगेर बीमा गरिने योजना रहेको कम्पनीले जनाएको छ । 

आफूहरुले पालेका पशुको बीमाको लागि आफूहरु पर्खेर बसेको घुन्सा निवासी पशु कृषक छेतेन डण्डु शेर्पा बताउनुहुन्छ । “हामी आफैँले बीमा कम्पनीलाई आह्पान गर्दा दुर्गम क्षेत्रमा प्राविधिक खर्च कृषकले नै व्यहोर्ने गरी मात्र आउने प्रस्तावका कारण ढिलाइ भएको थियो”, उहाँले भन्नुभयो, “अब भने संरक्षण क्षेत्रबाट बीमा कार्यक्रम आएपछि हाम्रा वस्तुभाउको बीमा हुनेमा निर्धक्क छौँ ।” 

उता ओलाङचुङ्गोलामा ठुला गोठहरुमा रहेको सबै वस्तुको बीमा गरिएको घाङलुङ उपभोक्ता समितिका अध्यक्ष छेतेन शेर्पाले बताउनुभयो । ओलाङचुङ्गोला र याङ्मा क्षेत्रमा रहेको सबै गोठका वस्तुको बीमा हुने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बूले बताउनुभयो । 

ताजा अपडेट