सेयर बजारमा हरियाली ४७ अंकले नेप्से बढ्यो , १ अर्बमाथि कारोबार

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजारमा हरियाली छाएको छ। सेयर कारोबार साताको चौथो दिन बुधबार नेप्से परिसूचक ४७.४४ अंकले बढेको छ। कारोबार रकममा पनि सुधार देखिएको छ।

नेप्से दोहोरो अंकले बढेसँगै कारोबार रकम पनि बढेको छ। आज १ अर्बमाथिको सेयर कारोबार भएको छ । कारोबारको अघिल्लो दिन मंगलबार ८२ करोड बराबरको कारोबार भएको थियो। सो दिन नेप्से २१.३० अंकले बढेको थियो।

आज २ सय २७ कम्पनीको ४६ लाख १८ हजार ५ सय १६ कित्ता सेयर १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका १३ वटै समूहको सूचक बढेको छ। फाइनान्स समूहको सूचक सर्वाधिक ५.७५ प्रतिशतले बढेको छ।

हाइड्रो पावर समूहको ३.६२ प्रतिशतले बढ्दा होटल्स एन्ड टुरिजमको २.५६, मनु एन्ड प्रो को २.२७, माइक्रो फाइनान्सको २.४३ र इन्भेष्टमेन्ट समूहको २.५६ प्रतिशतले बढ्यो। ट्रेडिङ समूहको ५.७५ प्रतिशतले बढ्यो।

यस्तै बैंकिङ, नन लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स र म्युचुअल फन्डको १ प्रतिशत बढिले सूचक बढ्यो।

नेप्सेका अनुसार सेयर बजारमा ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने लिवेर्टी इनर्जीको ८.३२ प्रतिशतले मूल्य कारोबार भएको छ । आज एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको १० प्रतिशतले मूल्य घट्यो।