भ्रष्टाचार गरेको आरोपमा खुलालविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले घूससहित पक्राउ परेका सिनियर प्लम्बर गणेशबहादुर खुलालविरुद्ध आज विशेष अदातलमा मद्दा दर्ता गरेको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महाङ्कालचौर शाखामा कार्यरत खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घूस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले गत साउन ३१ गते ५० हजारसहित नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग घूस माग गरेको पुष्टि हुन आएको भन्दै आज मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

आयोगले खुलालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) मा उल्लेख भए अनुसारको कसुर भएकाले बिगो ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार अधिकतम सजायको मागदाबी गरेको छ ।