अनुसन्धानका लागि बहालवाला न्यायाधीशलाई बोलाइने

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वयानका क्रममा नाम आएका बहालवाला न्यायाधीशलाई पनि महाअभियोग सिफारिस समितिले बोलाउने निर्णय गरेको छ ।

सिंहदरबारस्थित आज बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले वयानका क्रममा नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

 “निलम्बित प्रधानन्यायाधीश राणासँग अनुसन्धानका लागि लिइएको वयानका क्रममा नाम जोडिएर आएका नाम सङ्कलन गरी बोलाउछौँ”–उनले भने, “वयानमा नाम जोडिएर आएका वहालवाला न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई पत्राचार गर्ने निर्णय भएको छ ।”

  समितिले यही भदौ ८ गते वयान लिने निर्णय गरी भदौ १६ गतेदेखि वयान लिन सुरु गरेको थियो भने हिजो पाचौँ दिन पहिलो चरणको वयान सकिएको थियो ।  समितिको अर्को वैठक बिहीबार बिहान ८ः३० मा बस्ने छ । निलम्बित प्रधानन्यायाधीश राणासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम मङ्गलबार सकिएको छ ।

   समितिले निलम्बनमा परेका प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र राणाले प्रश्नको जवाफ दिने पहिलो चरणको क्रम सकिए पनि पूरक प्रश्न सोध्ने र वयानका क्रममा आएका व्यक्तिहरूसँग पुनः सवाल जवाफ गर्ने समितिको तयारी छ ।