दशगजामा सुरु भयो संयुक्त गस्ती

काठमाडौँ । आईताबार हुन लागेको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सीमाक्षेत्र दशगजामा संयुक्त गस्ती सुरु गरिएको छ । सीमा क्षेत्रमा विभिन्न आपराधिक क्रियाकलाप रोक्न गस्ती थालिएको हो ।

बिहीबारबाट सुरु गरिएको गस्ती मतगणनाको अन्तिम नतिजा नआउँदासम्म करिब १० दिनसम्म नियमित गरिने सशस्त्रको डंगरी बीओपी प्रमुख निरीक्षक सन्तोष अधिकारीले बताए । सशस्त्र, म्यादी र नेपाल प्रहरी तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त गस्ती गरिरहेका छन् ।

गस्तीमा नेपाल–भारतका २५ जना सुरक्षाकर्मी संलग्न भएका थिए । मर्यादपुरबाट ६ किमि पश्चिम र ६ किमि पूर्वका सीमा स्तम्भसम्म गस्ती गरिएको थियो । भारतको सिद्धार्थनगर र बलरामपुर जिल्लासँग कपिलवस्तुको ९३ किमि सीमा समेटेको छ ।

भारतको सिद्धार्थनगर र बलरामपुर जिल्ला खटिएका एसएसबीको दोस्रो र ५० औं बटालियनका कमाण्डरसँग सशस्त्रको २८ नम्बर गणले समन्वय गरेर गस्ती थालेको हो । गस्तीको सुरुवात यशोधरा गाउँपालिका मर्यादपुर नाकाबाट सुरु गरिएको छ ।