एक अर्ब बढीे लागतको बृहत् खानेपानी आयोजना स्वीकृत

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा ‘सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना कार्यान्वयनमा आउने भएको छ । चन्द्रागिरिको खानेपानी तथा ढल निकासको दीर्घकालीन समाधान खोज्न कार्यान्वयनमा ल्याइएको सो आयोजना चन्द्रागिरी–१२ र १४ वडाबाट सुरुआत हुने र ११, १३ र १५ मा पनि सञ्चालन हुने जानकारी दिएकोे छ। साथै निकट भविष्यमा नगरका बाँकी सबै वडामा आयोजना सञ्चालन हुने भएको छ ।

एसियाली विकास बैंकको आर्थिक एवं प्राविधिक सहयोगमा खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्था विभागले चन्द्रागिरिका ती वडामा पहिलोपटक करिब १ अर्बभन्दा बढी लागतमा सो बृहत् खानेपानी तथा सरसफाइ आयोजना स्वीकृत गरेको हो । चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीका अनुसार खानेपानी मन्त्रालयबाट सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना स्वीकृत भएको जानकारी नगरपालिकामा आइसकेको छ र नगरपालिकाका विभिन्न वडालाई सहज हुने सो बृहत् खानेपानी स्वीकृत भएसँगै अब यसलाई द्रुत कार्यान्वयनमा लैजान आवश्यक नीतिगत विषयहरू अगाडि बढाइसकेका बताए ।

यसका लागि नगरपालिकाले पहिलो चरणमा सम्बन्धित पक्षसँगको सर्वपक्षीय बैठक सम्पन्न गरिसकेको छ । गिरीका अनुसार अब १ महिनाभित्र नै उपभोक्ता समिति गठन भइ ‘सर्भे’ तथा ‘डिजाइन’को काम अगाडि बढ्ने भएको छ । काठमाडौँ उपत्यकाभित्रका नगरपालिकामध्ये र देशकै २० नगरपालिकामध्ये पहिलोपटक चन्द्रागिरिमा सो बृहत् खानेपानी आयोजना स्वीकृत भएको जानकारी दिएको छ ।

आयोजनाका सामाजिक सुरक्षण विज्ञ समिर ढकालका अनुसार यो आयोजना दक्षिण एसियाकै नमूना योजनाभित्र पर्ने छ । उनले भने उपभोक्ता समिति गठन भइसकेपछि सर्भे तथा डिजाइनको काम अगाडि बढ्छ । एक वर्षभित्रमा सर्भे र डिजाइनको काम सकिन्छ र यसपछि काम अगाडि बढ्छ । आयोजना अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार सञ्चालनमा आउँछ ।

नगरपालिकाले सो आयोजनालाई अगाडि बढाउन उच्च प्राथमिकतामा राखेको छ । यसका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहजीकरण गर्ने र २ चरणमा सरोकार पक्षसँगको बैठकसमेत समाप्त गरेको छ । आयोजनाबाट जलवायु परिवर्तनका नकरात्मक असर कम गर्ने कार्य पनि हुनेछ । सुरक्षण विज्ञ ढकालका अनुसार आयोजनाले निम्न वर्गका नगरवासीलाई धारा जडान र शौचालय निर्माणमा पनि अनुदान प्रदान गर्नेछ । उनका अनुसार सन् २०२४ भित्रमा सो आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

‘सबैका लागि खानेपानी र सरसफाइ’ भन्ने अवधारणाअनुसार आयोजनाले प्रत्येक घरमा निजी धारा जडान गरी प्रतिदिन प्रतिव्यक्ति १ सय ३५ लिटर राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार वितरण गर्ने बताएको छ ।

त्यसैगरी अर्कोतर्फ सबै नगरवासीलाई खानेपानी र सरसफाइको आवश्यक पहुँच पु¥याउन नगरपालिकाले एकीकृत खानेपानी नीति कार्यान्वयनमा ल्याउने भएको छ । चन्द्रागिरिका खानेपानीका प्राकृतिक मुहान तथा भूमिगत स्रोत संरक्षणमा ध्यान दिएका गिरीले बताए । गत स्थानीय निर्वाचनमा ‘एक घर एक धारा’ आफ्ना अवधारणाअनुसार सबै नगरवासीलाई खानेपानीको पहुँच पु¥याउने प्रतिबद्धताको साथ जानकारी दिएको छ ।

आयोजना कार्यान्वयन गर्ने प्रतिबद्धता

यस्तै सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजनाले समेट्ने सम्बन्धित वडाका वडाध्यक्षले आयोजना कार्यान्वयनलाई उतार्न आवश्यक पर्ने नीतिगत तथा अन्य क्षेत्रहरूलाई सहजीकरण गर्ने प्रतिबद्धता बताएका छन् । चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेलले नगरपालिकाको गौरव र प्रतिष्ठासँग गाँसिएको खानेपानी आयोजना कार्यान्वयमा उतार्ने जानकारी दिएका छन् । चन्द्रागिरि नगरको प्रतिष्ठासँग गाँसिएको बृहत् खानेपानी आयोजना कार्यान्वयनमा सहयोग हुने र नगरवासीलाई खानेपानीको समस्या सम्बोधन गर्न उच्च प्राथमिकता दिने लुइँटेलले बताए ।

पूर्ववडाध्यक्ष प्रकाश श्रेष्ठले चन्द्रागिरि नगरपालिकामा सबैभन्दा बढी वडा नं १२ मा खानेपानीको समस्या रहेको जनाउँदै यसलाई सम्बोधन गर्न आफ्नो कार्यकालमा प्राथमिता दिएको बताए । वडा नं ११, १२, १३ र १४ का वडाध्यक्ष क्रमशः नरेन्द्रराज श्रेष्ठ, न्हुच्छेबहादुर महर्जन, श्रीकृष्ण खत्री र राजभाइ महर्जनले खानेपानीको समस्या सम्बोधन गर्न आयोजना सम्पन्न गर्ने जानकारी दिएका छन् ।