सताक्षीधाम जाने सडक कालोपत्र

काठमाडौं । शिवसतासी नगरपालिका–११ स्थित शिवसताक्षी धाम जाने सडक कालोपत्र भएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् ।

प्रदेश नं १ को सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेटमा पूर्वपश्चिम राजमार्गबाट झिलझिले बजार उत्तर ५ किलोमिटर सडक कालोपत्र जारी रहेको छ ।

प्रदेश सरकारको ३५ करोड २६ लाख १३ हजारको बजेटमा शिवसताक्षीधामबाट झिलझिले बजार हुँदै दक्षिण होकलबारीसम्मको २६ किलोमिटर सडक धमाधम कालोपत्र भएको छ । तीमध्ये राजमार्गको उत्तरधाम क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सडक कालोपत्र गरिसकेको सडक पूर्वाधार तथा सहरी विकास कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले जानकारी दिएका छन् ।

उनले राजमार्ग दक्षिण होकलबारी जाने सडकमा समेत कालोपत्र गर्ने कार्य तीव्ररूपमा भइरहेको बताएका छन् । श्रेष्ठका अनुसार ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सडकै कारण थप सहयोग पुग्ने देखिएको छ । धाममा आवतजावत गर्ने भक्त तथा पर्यटकलाई सजिलो होस् भनेर काममा उनीहरुले विलम्ब नगरेको बताए ।

यसैगरी ठेक्का दिएको निर्माण कम्पनी रौताह खनाल जेभी इलामले चालु आर्थिक वर्षभित्रमा सो सडक सम्पन्न गर्ने जिम्मा पाएको छ । प्रदेश सरकारले बनाइदिएको कालोपत्रसहितको सडकमा बत्ती जडान गर्ने कार्य भने नगरपालिकाले गरिरहेको शिवसताक्षी धाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले बताएका छन् ।

उनले सडक बनेसँगै धाममा आउने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको बताए । उनका अनुसार चुनाव सकिएसँगै धामक्षेत्रमा दर्शन गर्न र वनभोज खान दैनिक पाँच सय बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका जानकारी दिएका छन् ।