बिहे भोज खाएका ८० बढी बिरामी

काठमाडौँ । पाल्पाको बगनासकालीस्थित चिर्तुङधारामा बिहेको भोज खाएपछि ८० जना भन्दा बढी स्थानीयवासी बिरामी परेका छन् । बगनासकाली–१, चिर्तुङधारा स्थित घोर बन्दामा गएको शनिवार भएको बिहेको भोज खादा घोर बन्दा बुढाखान्डे, भाङ जेली, अम्रेली, पिपरटुङ, ढाडटोलबासी बिरामी परेका हुन् ।

मङ्सिर १७ गते शनिवार स्थानीय दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएकाहरू बिरामी परेको स्थानीय बासिन्दा गुनबहादुर गाहाले बताए । उनीहरूमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुनेलगायतका समस्या देखिएको छ ।

बिरामी परेकामध्ये ४ जना तानसेनस्थित मिसन अस्पतालमा भर्ना भएका छन् । उपचारका लागि आएका २२ मध्ये ४ जनालाई भर्ना गरेर उपचार गर्नुपरेको तानसेनस्थित मिसन अस्पतालका सूचना अधिकारी जीवन भट्टराईले जानकारी दिए । बिरामी परेकामा ‘फुड प्वाइजनिङ्’ को समस्या देखिएको मिसन अस्पतालको भनाइ छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएकालाई भर्ना गरिएको र बाँकीलाई परामर्श र औषधि दिएर घरमा पठाइएको भट्टराईले बताए ।

भोजमा बटुक, पाडा (राँगो) को मासु, पुलाउ, आलु गोभीको तरकारी, मेवाको अचार, बटुक, आलु मुलाको अचार परिकार थियो । प्युठानमा समेत भोज खाएर गएकाहरू जन्ती तथा बेहुला र बेहुली बिरामी परेका छन् । बिरामी परेकालाई उपचारका लागि स्वास्थ्य चौकी तथा पालिकाले तयारी गरेको छ ।

अधिकांश बिरामीले अहिले पनि घरमै रहेको स्थानीय बासिन्दा मुक्ति बस्यालले बताए । बिहे भोज खाएर बिरामी हुने अधिकांश आफन्त रहेका उनले बताएका छन् ।