कारबाहीबाट जोगिन धमाधम राजीनामा

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन्। नक्कली शैक्षिक प्रमाणपत्रका विषयमा छानबिन हुन थालेपछि राजीनामा दिने बढेको संस्था स्रोतले जनाएको छ।

आन्तरिक बढुवाका लागि निर्धनका अधिकांश कर्मचारीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ। राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाएपछि राजीनामा दिनेको संख्या बढेको हो।

आइतबारसम्ममा सहायक महाप्रबन्धक राजनारायण दासदेखि सहायक स्तरका ३७ कर्मचारीले राजीनामा दिइसकेका छन्। कर्मचारीले बढुवाका लागि छिमेकी भारतबाट अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गरेको राष्ट्र बैंकको अनुसन्धानबाट देखिएको छ।

राष्ट्र बैंकले ५९ फाइल लगे लगत्तै ३७ कर्मचारीले राजीनामा दिइसकेको निर्धन उच्च स्रोतले दाबी गरेको छ।

त्यसरी भारतबाट अध्ययन गरिएका भनिएका शैक्षिक प्रमाणपत्रको त्रिभुवन विश्वविद्यालयबाट ‘इक्वुभ्यालेन्टस’ नगरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक सुमनकुमार अधिकारीले निर्धनका कर्मचारीले पेस गरेका भारतमा अध्ययन गरिएका भनिएका शैक्षिक प्रमाणपत्रहरू नेपालमा प्रमाणित नगराएको बताए। ‘भारत पढेको सर्टिफिकेट त्रिभुवन विश्वविद्यालयबाट इक्युभ्यालेन्ट नभएको पाइयो’, अधिकारीले भने, ‘यस्तो संख्या रहेछ।’

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अनुसन्धान अघि बढेको थियो।

अख्तियारले उक्त विषयमा अध्ययन गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। राष्ट्र बैंकले मंसिर ९ गते निर्धन उत्थान लघुवित्तको केद्रीय कार्यालयबाट ५९ जना कर्मचारीको फाइल नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो। अध्ययनका क्रममा राष्ट्र बैंकले धेरै कर्मचारीको टियुबाट इक्युभ्यालेन्ट नभएको प्रमाणपत्र भेटाएको हो।

राष्ट्र बैंकका दुईजना अधिकारीले फाइलको अध्ययन गरेका थिए। ‘अख्तियारले वास्तविकता पत्ता लगाई रिपोर्टिङ गर्नु भनेकाले हामीले अध्ययन गरी प्रतिवेदन बुझाएका हौं। थप प्रक्रिया अख्तियारबाटै हुन्छ’, अधिकारीले भने। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले नक्कली शैक्षिक प्रमाणपत्र प्रमाणित भए कारबाही हुने बताए। अनुसन्धानकै क्रममा रहेकाले थप अध्ययन गर्न बाँकी रहेको उनले भनाइ छ।

सहायक स्तरका ३७ कर्मचारीले राजीनामा दिइसकेका 
‘भारतमा पढेको सर्टिफिकेट त्रिभुवन विश्वविद्यालयबाट इक्युभ्यालेन्ट नभएको पाइयो’

कतिपय कर्मचारीले त्यतिबेलैदेखि बढुवा गर्दा पदपूर्ति समितिले इकुभ्यालेन्ट नभएका सर्टिफिकेटलाई मान्यता दिएको भन्दै रोष प्रकट गरेका थिए। राष्ट्रियस्तरको नाम चलेको निर्धन लघुवित्तले आफ्नो छविमाथि नै आँच आउने गरी गरेको यस्तो कार्यले छविसमेत धुमलिएको जानकारहरू बताउँछन्।

निर्धन उत्थान लघुवित्तका सूचना अधिकारी रामबहादुर चौधरीले उजुरी परेको जानकारी नभएको बताए। वैदेशिक शैक्षिक पमात्रणपत्रमा जागिर खान हुँदैन भन्ने नभएको र जाँचबुझ गर्ने निकाय पनि आफूहरू नभएको उनले बताए। निर्धन कर्मचारी युनियनका अध्यक्ष सन्तोष आचार्यले यस विषयमा बोल्नुपर्ने केही विषय नभएको बताए। अख्तियारमा उजुरी नपरेको दाबी गर्दै उनले भने, ‘मैले यो विषयमा थप प्रतिक्रिया दिँदैन।’

कारबाहीबाट बच्न राजीनामा

राष्ट्र बैंकले ५९ फाइल लगे लगत्तै ३७ कर्मचारीले राजीनामा दिइसकेको निर्धन उच्च स्रोतले दाबी गरेको छ। स्रोतका अनुसार राजीनामा दिनेमा सहायक महाप्रबन्धक राजनारायण दासदेखि उच्च पदस्थ र अन्य सहायक स्तरसम्मका छन्। कारबाहीबाट बच्न राजीनामा दिएको बुझिएको छ। निर्धन उत्थानले कतिपयको राजीनामा स्वीकृति गर्दै उपदान दिएर पठाएको जनाइएको छ।

स्रोतका अनुसार बिन्दा सिंह कार्की, अग्नि पौडेल, पिताम्बर पौडेल, कृष्ण पौडेल, राजु तामाङ, अजिमुल्ला दर्जी, रामजी भट्टराई, भोजबहादुर लामिछाने, कृष्णकान्त अधिकारी, मदन न्यौपाने, शान्ति पाण्डे, महेन्द्र कुँवर, श्याम थापा, यमुना न्यौपानेले राजीनामा दिएका छन्।

त्यस्तै मिश्रिलाल कुम्हार, सुरेशमणि त्रिपाठी, लालबहादुर राना, रमेश पन्थी, रवि गुरुङ, नारायण खराल, रामचन्द्र भट्टराई, राजकुमार चौधरी, ईश्वर चौधारी, सूर्यमणि कोइराला, देवीराम पराजुली, माधव शर्मा, रामउग्र चौधरी, जितनारायण चौधरी, टोपबहादुर रास्कोटी, हजरत अली, अर्जुन खनाल, नारायणी अर्यालले राजीनामा दिएका हुन्।

उनीहरूले कार्यव्यस्ता देखाउँदै राजीनामा दिएका छन्। अनुसन्धानका क्रममा राजीनामा स्वीकृत गराएर उपदान वितरण हुनु कानुन विवरण भएको कानुन व्यवसायी बताउँछन्। निर्धन उत्थान बैंकले ७७ जिल्लामा १ सय ८५ शाखा कार्यालयमार्फत ४ लाख बढीलाई वित्तीय सेवा प्रदान गरिरहेको छ। निर्धन लघुवित्तले करिब २७ अर्ब २८ करोड लगानी गरेको छ। अन्नपूर्णपोष्टबाट