आज मधेस प्रदेशमा ज्येष्ठ सदस्यको शपथ ग्रहण

काठमाडौँ । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

नेकपा एकीकृत समाजवादी बाट निर्वाचित न्यौपानेले आज दिउँसो २ बजे मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले ज्येष्ठ सदस्यको रुपमा न्यौपानेले आज शपथ ग्रहण गर्ने र भोलि शुक्रबार न्यौपानेले बाँकी नवनिर्वाचित प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको जानकारी दिएका छन् ।

यसैगरी मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यले विभिन्न आठ भाषामा शपथ ग्रहण गर्ने तय भएको सचिव यादवले जानकारी दिएका छन् ।