नेप्से परिसूचकमा निरन्तर उकालो

काठमाडौँ । नेप्से परिसूचक साताको पहिलो दिन आइतबार पनि बढेको छ । गत सातादेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज आज २०.६८ अंकले बढेर २ हजार १ सय ६४.६१ अंकमा कारोबार भएको छ ।

आजा कारोबार भएको २ सय ५९ वटा कम्पनीको १ करोड ४१ लाख ९ सय ८८ कित्ता शेयर ७५ हजार ४ सय ६५ पटक खरिद–बिक्री हुँदा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको हो ।

आज बैंकिङ, उत्पादन र लघुवित्त समूहको उपसूचक घटेको छ । अन्य सबै समूहको उपसूचक बढेको छ । नेप्सेकाअनुसार बैंकिङ समूह १२.२५, उत्पादन समूह ६०.१७ र लघुवित्त समूह १०.९९ अंकले घटेको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४ सय ६८.९८ अंक र निर्जीवन बीमा ३ सय २२.२८ अंकले बढेको छ । त्यस्तै, विकास बैंक समूहको उपसूचक १९, वित्त समूहको उपसूचक ३५.७६, होटल समूहको उपसूचक १ सय १९.५६ र जलविद्युत् समूहको उपसूचक ५२.६१ अंकले बढेको छ ।

लगानी समूह १.२८, म्युचुअल फन्ड समूह ०.४२, व्यापार समूह ५७.६७ र अन्य समूह १२.३३ अंकले बढेको छ । कारोबार भएका सेयर संख्याका आधारमो हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । कम्पनीका ५ लाख २७ हजार १ सय ८५ कित्ता सेयर खरिद–बिक्री भएका छन् ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रु २१ करोड २९ लाख ५२ हजार र शिवम् सिमेन्टको १९ करोड ६८ लाख ६३ हजार बरारबरको कारोबार भएको छ ।