वरियताको विषयले पार्टीभित्र समस्या सिर्जना गरेको जस्तो देखिन्छ । पहिलो तपाई असन्तुष्ट बन्ने भयो अहिले माधव नेपाल असन्तुष्ट देखिएका छन् यसलाई कसरी लिने ?
पहिलो कुरा त हरेक पार्टीमा कुनैपनि नेताको स्टाण्डिङ भनेको उसको जीवन हो । उसको इतिहास हो । त्यही इतिहासले नै वरिष्ठ र कनिष्ठताको निर्धारण गर्छ । वरिष्ठता र कनिष्ठता कसैले टिका लगाएर दिने पनि होइन, कसैले खोस्दा खोसिने पनि होइन । यो त बस्तुगत इतिहास हो ।
जस्तो उदाहरणका लागि हामीले २०३२ सालमा त्यतिबेला विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकरण गर्न एकता केन्द्र (कोर्डिनेसन केन्द्र) बनायौँ । जसको म सचिवसम्म भएँ, जुनबेला माधव कमरेड सदस्य हुनुहुन्थ्यो । जसको उद्देश्य सिङ्गो कम्युनिष्ट आन्दोलनई एकीकरण गरेर पार्टी निर्माण गर्ने भन्ने थियो । २०३५ सालमा हामीले पार्टी निर्माण गर्यौँ । त्यो पार्टी निर्माण भएपछि २०३९ सालमा महासचिव भएँ । २०४६ सालसम्म महासचिवका रुपमा काम गरेको थिएँ । महासचिव भएका बेला कमरेड माधवकुमार नेपाल पोलिटव्यूरो सदस्यका रुपमा हुनुहुन्थ्यो । यति कुराले मात्रै को सिनियर को जुनियर भन्ने स्पष्ट छ ।
अहिलेसम्मको हाम्रो जीवन हेर्दा को वरिष्ठ र कनिष्टता निर्धारण गर्छ । त्यसकारण कि त उमेरले निर्धारण गर्छ वरिष्ठता, कि त पार्टी सदस्यको मितिले निर्धारण गर्छ । अर्को भनेको पार्टीमा महत्त्वपूर्ण पदमा को पहिला पुग्यो भन्ने कुराले निर्धारण गर्ने विषय हो । त्यसो हुनाले अहिलेको अबस्थामा १५ महिना अगाडिको पार्टीको निर्णय गलत थियो । म त तत्कालिन एमालेको नवौँ महाधिवेशनले नै निर्वाचित एकमात्र वरिष्ठ नेता हुँ ।
जुनबेला पार्टीमा अरु कोही पनि वरिष्ठ नेता भन्ने थिएन । पार्टी एकता हुँदा वरिष्ठताका आधारमा नीति र पद्धतीअनुसार एकिकरण हुनुपर्ने थियो । त्यो हुँदा स्वतःसिद्ध रुपमा म वरिष्ठ नेता हुनुपर्ने आवश्यकता थियो । जुन अन्यायपूर्ण रुपमा मलाई वरिष्ठताको विषयमा गरिएको अन्याय यसपटक पार्टीले सच्यायो । सच्याएसँगै के पनि भयो भने पार्टीहरु त धेरै छन्, समाजमा तर अरु पार्टीहरुले गल्ती गर्छन्, उनीहरुले सच्याउँदैनन्, कम्युनिष्ट पार्टीले समेत अरु पार्टीले जस्तो गल्ती पनि गर्छ, तर गल्ती थाहा भएपछि सच्याउँछ भन्ने पनि भएको छ । गल्ती सच्याएसपछि अरु कसैले केही गनुपर्ने पनि छैन । मलाइ पनि केही गर्नुपर्ने छैन । मलाई त आफ्नो पोजिशनमा राख्यो । त्यति मात्रै हो ।
नेकपामा गुट उपगुटका कारण समस्या भएको कुरा तल्लो तहसम्म पुगेको छ । तपाईले एउटा कार्यक्रममा केपी ओली नेतृत्वको वर्तमान सरकार ५ वर्षसम्म चल्छ भन्नुभयो…
पार्टी जहिलेपनि एउटा कार्यदिशामा चल्नुपर्छ भन्ने हो । नीति र सिद्धान्तका आधारमा पार्टी चल्छ । पार्टी नेता होइन, नीति र कार्यदिशाका आधारमा चल्छ । नेताहरुको पनि महत्वपूर्ण भुमिका हुन्छ तर नीतिप्रधान हुन्छ । नीतिको आधारमा पार्टी चल्नुपर्छ । त्यसकारण कमरेड पुष्पलालले कम्युनिष्ट पार्टी नेताका आधारमा होइन, नीतिका आधारमा चल्छ भन्नुभएको थियो । त्यसकारण अहिले अबस्थामा जो विगतको निर्वाचनमा ५ वर्षसम्म नेकपालाई सरकारको नेतृत्व गर्ने जिम्मा दिएको छ ।
५ वर्षसम्म अपरिवर्तनीय रुपमा नेकपाले सरकारको नेतृत्व गर्ने कुरामा कसैले विवाद गर्नुपर्ने अबस्था छैन । जहाँसम्म मन्त्रिमण्डल हेरफेरको कुरा हो, आवश्यकताको उपजका रुपमा जहिलेपनि परिवर्तन हुनसक्छ ।
केहीदिनअघि मात्रै हो मैले झापाको एउटा कार्यक्रममा भनेको थिएँ, हामीले यो देशमा ५ वर्षमा सरकार चलाउन जनताले अभिमत दिएका छन्, ५ वर्षसम्म नेकपा नेतृत्वको सरकार रहन्छ । मन्त्रिमण्डल हेरफेर हुनसक्छ भनेर भनेको थिएँ । त्यसलाई समाचारमा पाँचै वर्ष केपी कमरेडको नेतृत्वमा सरकार चल्छ भनेर भन्दिए । कमरेड केपीकै नेतृत्वमा सरकार चल्छ भनेपनि मेरो शुभकामना छ ।
गुट उपगुटको कुरा आयो, भद्र सहमतिको कुरा पनि आएको छ, यो के हो ?
तपाईजस्तो पत्रकारले जुन ढंगले गुट र उपगुटको कुरा गर्नुभएको छ पार्टीभित्र यो गर्नै नपरे हुन्छ भन्ने मलाई लाग्छ । कम्युनिष्ट पार्टीमा गुट र उपगुटको कुरा भनेको अनौठो कुरा हो । म जहिलेपनि पार्टीहरुभित्र रहने गरेको गुट उपगुटका विरुद्ध शुरुदेखि अहिलेसम्म पनि लडिरहेको छु ।
पार्टीभित्र गुटवादी प्रवृत्ति जन्मिन्छन्, तर कम्युनिष्ट पार्टीभित्र गुटबन्दीलाई प्रोत्साहित गर्नुहुँदैन । निरुत्साहित गर्नुपर्छ । पार्टी जहिलेपनि गुटरहित बनाउनुपर्छ । अहिले हामी नेकपा निर्माण गरिरहेका छौँ । पार्टी निर्माण गर्ने बेलामा दुईवटै पार्टीभित्रका राम्रा विषयहरुलाई समातेर नराम्रा विषयलाई निषेध गरेर जानुपर्छ । अहिले हामी नितान्त एउटा नयाँ गुट र उपगुटबाट मुक्त भएको पार्टी बनाउनुपर्छ मेरो अडान छ । म त्यसैमा लाग्छु ।
भद्र सहमतिको कुरा चाँहि ?
दुईवटा पार्टी एकिकरण गरेर एउटा बनाउँदा दुईजना अध्यक्षका बीचमा सहमति भएको छ भन्ने कुरा आएको छ । जुन सहमति पार्टीभित्र आएको छैन । पार्टीभित्र औपचारिक रुपमा सहमति नआउँदासम्म पार्टीले चिन्दैन । तरपनि एकीकरणका बेला दुईजना अध्यक्षहरुले जे सहमति गर्नुभएको छ त्यसलाई हामी सम्मान गछौँ र सम्मान गर्नुपर्छ । ती सहमतिहरु व्यवहारमा कार्यान्वयन भएर जानुपर्छ ।
नेतृत्व पंक्तिमा केही नेताहरु स्थायी कमिटी, सचिवालयमा नपरेको गुनासो पनि गरेको सुनिन्छ । पोलिटव्यूरो त अहिलेसम्म गठन हुन सकेको छैन । जिम्मेवारी बाँटफाँटमा समेत केही असन्तुष्टि रहेको जस्तो पनि देखिन्छ । महाधिवेशनलाई केन्द्रमा राखेर नैराश्यता समेत देखिन्छ यसबारेमा तपाईको धारणा के छ ?
दुईवटा पार्टी एकिकरण हुँदा हामीले केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटी बनायौँ अझै पोलिटव्यूरो गठनको प्रक्रिया बाँकी छ । यी प्रक्रियामार्फत् कतिपय साथीहरुलाई हामीले अटाएका छौँ । तर तत्कालिन नेकपा माओवादीसँग करिब ५ हजारजति त केन्द्रीय सदस्य थिए । हामीले एकहजारलाई पनि केन्द्रीय समितिमा अटाउन सकेनौँ ।
हामीले करिब आधाहजार जति भनौँ न ४ सय ४१ सदस्यीय मात्रै केन्द्रीय समिति बनाउन सक्यौँ । त्यसो भएका कारण नअटाएका साथीहरुलाई राष्ट्रिय परिषद् बनाउँछौ, केन्द्रीय सल्लाहकार परिषद् बनाउँछौँ, विभिन्न आयोगहरु बनाउँछौ, ती कुराहरुमा सकेसम्म अटाउने व्यवस्था गर्छौँ, माथी अटाएन भने तल भएपनि अटाउने व्यवस्था गछौँ । हामी सबै पार्टीका साथीहरुलाई कुनै न कुनै कमिटिमा संगठित गर्ने प्रयत्नका साथमा अघि बढ्छौँ ।
सचिवालय र स्थायी कमिटी विस्तारको आकांक्षा राखेका नेताहरुका लागि केही व्यवस्था हुन्छ कि ?
अब सचिवालय स्थायी कमिटि अहिले जुन बनाएका छौँ । त्यसलाई हामी अहिले चलाउँदैनौ । तर कसो गर्दा पार्टीलाई बढि गतिशिल बनाउँछ हामी त्यसै गछौँ । त्यसबारेमा हामीले अहिले सोच्दैछौँ । ३२ वटा विभागमध्ये संगठन विभाग छ हामीसँग, त्यसले पार्टीका बारेमा अलि गम्भिर ढंगले सोँच्नुपर्ने अबस्था छ । पार्टीको संरचनाहरु कस्तो बनाउने भन्ने बारेमा त्यसले काम गर्छ ।
हामीले अहिले सचिवालय, पोलिटव्यूरो, स्थायी कमिटी भनेका छौँ त्यसबाहेक केन्द्रीय कमिटी अहिलेकै जस्तो यही अबस्थामा राखेर चलाउन सकिन्छ कि योभन्दा अझै चुस्ता खालको बनाएर लैजान सकिन्छ भन्ने विषयमा हामी सोच्दैछौँ । केन्द्रीय कमिटीले कतिपय कुराहरुलाई मिलाउँदै लैजान्छ ।
Add Comment