रित्तो हलमा काठमाडौं महानगरको सार्वजनिक सुनुवाई

सार्वजनिक सुनुवाई भईरहेको राष्ट्रिय सभागृहको हल
सार्वजनिक सुनुवाई भईरहेको राष्ट्रिय सभागृहको हल

काठमाडौं । काठमाडौं महानगरपालिकाले आईतबार गरेको सार्वजनिक सुनुवाईमा निकै नै रोमाञ्च दृश्य देखिन्थ्यो । महानगरले गरेका कामकार्वाहीलाई पारदर्शि र जवाफदेही बनाउनका लागि स्थानीय तहका रुपमा रहेको महानगर सार्वजनिक सुनुवाई त गर्यो । तर, त्यहाँ न त केही जना बाहेक काठमाडौं महानगरवासीहरुको उपस्थिति थियो । नत महानगर प्रमुख बालेन्द्र साह नै ।

महानगरपालिकाको जस्तो संस्थाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा केही व्यक्ति बाहेक सभागृहको हलभित्र महानगरपालिकाका विभागिय प्रमुख बाहेक कोही पनि देखिँदैनथे । दुई चरणमा गर्ने भनिएको सार्वजनिक सुनुवाई कार्यक्रम नाम अनुसारको भने थिएन ।

आईतबार १ बजे शुरु गर्ने भनिएको सार्वजनिक सुनुवाई कार्यक्रम करीव २ः३० पछि मात्र शुरु भएको थियो । केही कर्मचारीहरु बाहेक हलमा कोही पनि देखिँदैनथे । महानगरपालिकाको कार्यापालिका मातहतमा रहेको समितिका संयोजक बाहेक वडा अध्यक्षहरु समेत उपस्थित भएका थिएनन् ।
हुन त फागुन १९ गते नै गर्ने भनिएको महानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम २८ गते आईतबार राखियो । तर सो कार्यक्रम महानगरपालिकाका प्रमुख बालेन्द्र साहले रोक्न खोजेका थिए । जनता नै उपस्थित नभएको अवस्थामा र महानगर प्रमुखले नचाहँदा नचाहँदै सार्वजनिक सुनुवाई नाम मात्रको कार्यक्रम महानगरले सम्पन्न गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालले १० जना पनि महानगरवासी उपस्थित नभएको कार्यक्रम सार्वजनिक सुनुवाई कसरी हुन्छ भन्दै केही छिन् हल्ला गरेको थिए । यद्यपी प्रमुख प्रशासकीय प्रमुखले केही मान्छेलाई फोनबाट बोलाएर कार्यक्रम सञ्चालन गर्न लगाएका थिए ।

राष्ट्रिय सभागृहको हलमा नाम मात्रको सार्वजनिक सुनुवाई कार्यक्रम भईरहँदा प्रमुख बालेन्द्र साह भने सभागृहकै आफ्नो कार्यकक्षमा सहयोगीका साथ बसिरहेका थिए । सभागृहमा नै रहेका प्रमुख बालेन्द्र साहको इच्छा विपरित नै महानगरपालिकाले जनता विना र गुनासा विनाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरी आँखामा छारो हाल्ने काम मात्र गरेको छ ।