राष्ट्रिय योजना आयोगले सार्वजनिक गर्यो आगामी तीन वर्षको बजेट प्रक्षेपण

काठमाडौं । सरकारले आगामी तीन वर्षमा करिब ५९ खर्बको बजेट बन्ने प्रक्षेपण गरेको छ । राष्ट्रिय योजना आयोगले आगामी तीन वर्षको प्रक्षेपणसहित सार्वजनिक गरेको मध्यमकालीन खर्च संरचनामा आगामी तीन वर्षको बजेट प्रचलित मूल्यमा ५८ खर्ब ९९ अर्ब ३१ करोड रहने बताएको हो ।

जसमा चालू खर्चको हिस्सा ठूलो हुनेछ । चालूतर्फ ३५ खर्ब ९८ अर्ब ८१ करोड रूपैयाँ, पूँजीगततर्फ १२ खर्ब ६७ अर्ब ३३ करोडको प्रक्षेपण गरिएको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ १० खर्ब १३ अर्ब १६ करोड रूपैयाँ बाँडफाँट हुने अनुमान छ ।

बजेट खर्च व्यहोर्ने स्रोततर्फ ४३ खर्ब ३ अर्ब १२ करोड रूपैयाँ राजस्वबाट मात्रै प्राप्त हुने आंकलन छ । यस्तै वैदेशिक अनुदान ९८ अर्ब ७७ करोड रूपैयाँ, वैदेशिक ऋण ५ खर्ब ३३ अर्ब रुपैयाँ र आन्तरिक ऋण ८ खर्ब ३६ अर्ब रूपैयाँ हुने अनुमान गरिएको छ ।

यस्तै राष्ट्रिय गौरवका आयोजनामा आव २०८०/८१, ८१/८२ र ८२/८३ मा क्रमशः ६० अर्ब ३१ करोड ४९ लाख, ६९ अर्ब ७२ करोड ६७ लाख र ७४ अर्ब ९ करोड ६ लाख आवश्यक पर्ने अनुमान छ । सरकारले आर्थिक वर्ष २०६८/६९ देखि मुलुकको आर्थिक सामाजिक विकासमा योगदान पुर्‍याउने ठूला पुर्वाधार निर्माण र सांस्कृतिक एवम वातावरण संरक्षणसम्बन्धी रणनीतिक महत्वका २ दर्जनजति आयोजनालाई राष्ट्रिय गौरवको आयेजनाका रूपमा अघि सारेको छ ।

योजना आयोगले आउँदो तीन वर्षमा मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने प्रक्षेपण पनि सार्वजनिक गरेको छ । जसअनुसार आव २०८०/८१ मा ६ प्रतिशत, ८१/८२ मा ७.५ प्रतिशत र आव ०८२/८३ मा ८ प्रतिशत पुग्ने प्रक्षेपण छ ।

यस्तै आगामी वर्ष महंगी ६.५ प्रतिशत रहने र ८२/८३ मा भने महंगी ६ प्रतिशतमा झर्ने अनुमान छ ।

यता प्रतिव्यक्ति आम्दानी भने बढ्दै जाने प्रक्षेपण गरिएको छ । आगामी वर्ष ९२०८०/८१० प्रतिव्यक्ति आम्दानी १ हजार ५ सय ७२ डलर, २०८१/८२ मा १ हजार ७ सय ४० र आव २०८२/८३ मा १ हजार ९ सय ३५ डलर आम्दानी पुग्ने प्रक्षेपण गरिएको छ ।

तीन वर्षमा नेपाली रूपैयाँ झनै कमजोर हुँदै जाने देखिएको छ । आयोगको प्रतिवेदनअनुसार एक अमेरीकी डलर बराबर १३६ रूपैयाँ ९ पैसा हुनेछ । यही विनिमयदरलाई आधार मान्ने हो भने आगामी तीन वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी २ लाख ६४ हजार ९ सय १ रूपैयाँ पुग्नेछ ।

यस्तै राजस्वको वृद्धिदर आगामी आवमा बढेपनि त्यसपछिका दुई वर्षमा झनै घट्दै जाने प्रक्षेपण गरिएको छ । वैदेशिक सहयाताको वृद्धिदर पनि खुम्चनेछ ।

पन्ध्रौं योजनामा आर्थिक वृद्धिको लक्ष्य र अर्थतन्त्रको पछिल्लो अवस्थाका आधारमा आ।व २०८०/८१ सहित आगामी तीन वर्षको समष्टिगत अर्थतन्त्रको खाकालाई लिएर मध्यमकालीन खर्च संरचना तयार गरिएको आयोगले जनाएको छ ।

मध्यमकालीन खर्च संरचनालाई आवधिक योजना र वार्षिक वजेटबीच तादाम्यता ल्याउने महत्वपूर्ण औजारको रूपमा लिने गरिनछ । यस संरचनामा आगामी आर्थिक वर्षको बजेट अनुमान र त्यसपछिका दुई आर्थिक वर्षको प्रक्षेपण गरी तीन आर्थिक वर्षको चक्रिय बजेट प्रस्तुत गरिन्छ । आर्थिक वर्ष २०७८/७९ देखि मध्यमकालीन खर्च संरचना र वार्षिक विकासलाई एकिकृत गरी एकल दस्तावेजको रूपमा प्रकाशन हुँदै आएको छ ।