अविरल वर्षाका कारण मधेस प्रदेशमा सयौं घरधुरी डुबानमा

काठमाडौं । सोमबारदेखि सुरु भएको अविरल वर्षाका कारण मधेस प्रदेशमा १५५ वटा घरधुरी डुबानमा परेका छन्। मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार पर्सा, रौतहट र महोत्तरीमा खोलामा आएको बाढीका कारण घरहरू डुबानमा परेका हुन्।

मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले पर्सामा २०, रौतहटमा ७५ र महोत्तरीमा ६० वटा घरधुरी डुबानमा परेको जानकारी दिए।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ११ स्थित डोम बस्ती, रौतहटको फतुवाविजयपुर नगरपालिका वडा नं. ८ बुनियाँद गाउँ डुबानमा परेको छ।

यस्तै, रौतहटकै दुर्गाभगवती गाउँपालिका ५ बडहर्वा टोलमा बागमती खोलाको बहाव बढ्न गइ बस्तीमा पानि पसेको र महोत्तरीको लोहारपट्टी नगरपालिका ५ डठौरा गाउँ र बलवा नगरपालिका ११ भगवतीपुर स्थितमा अविरल वर्षाको कारण रातु खोलामा पानीको बहाव बढ्न गइ खोला रोक्नको लागि लगाएको तदबन्द १२ मिटर फुटेर भत्कँदा बस्तिमा पानी पसेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यस्तै, बाढी तथा डुबानका कारण २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्।

रौतहटमा ११ र सर्लाहीमा ७२ जना गरी ८३ जनाको सकुशल उद्दार गरिएको प्रदेश प्रहरीले जनाएका छन्।

बाढी तथा डुबानका कारण सडकहरु समेत अवरुद्ध भएको हो।