स्पेनको जनसंख्या पुग्यो ४ करोड ८३ लाख, करिब एक करोड आप्रवासी मात्रै

काठमाडौं । स्पेनको जनसंख्या ४ करोड ८३ लाख ४५ हजार २२३ पुगेको छ । यो हालसम्मकै उच्च हो ।

२०२३ को दोस्रो त्रैमासिकमा १३ लाख ५ हजार १८६ जनाले वृद्धि भएको छ । थपिएको जनसंख्या मध्ये १ लाख ३९४ जना स्पेन बाहिर जन्मिएका हुन् ।

जनसंख्या उच्च हुनुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयको अध्ययनले जनाएको छ ।

पछिल्लो तथ्यांक अनुसार स्पेनमा विदेशी भूमिमा जन्मिएका बासिन्दाको संख्या ८४ लाख ५७ हजार ८८६ पुगेको छ ।

स्पेनका राष्ट्रिय तथ्यांक संस्थानका प्राविधिक मिगुएल कार्लोस गालानले भने, ‘यो वृद्धि जन्मको कारणले भएको होइन किनभने जन्म र मृत्यु बीचको भिन्नता व्यवहारिक रूपमा शून्य भएको छ, तर मूलतः के भएको छ कि आप्रवासन बढेको छ ।’

अप्रिल र जुनको बीचमा स्पेन आउने अधिकांश आप्रवासी कोलम्बिया र मोरक्कनका थिए । विदेशमा बसोवास गरेर आफ्नो मातृभूमिमा फर्केका स्पेनीहरुको संख्या उल्लेख्य रहेको पाइएको छ ।

‘स्पेनमा जनसंख्या भविष्यमा अलिकति घट्नसक्छ । जनसंख्या घट्न नदिने सुनिश्चित गर्न आप्रवासीहरूको धेरै ठूलो प्रवाह आवश्यक छ,’ गालानले भने ।