भारतको हिमाचलमा आएको भीषण बाढीका कारण ५० जनाको मृत्यु, ७५२ सडक बन्द

काठमाडौं । भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा वर्षापछि आएको भीषण बाढीपहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ ।

राज्यका विभिन्न भागमा अविरल वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानका कारण राज्य सरकारले सबै विद्यालय, कलेज र अन्य शैक्षिक संस्थाहरू बन्द गर्न निर्देशन दिएको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले राज्यमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । राज्य आपत्कालीन सञ्चालन केन्द्रका अनुसार राज्यमा सात सय ५२ सडक बन्द गरिएको छ ।