काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सदस्य पदबाट केशव स्थापितले दिएको राजीनामा पार्टीले स्वीकृत गरेको छ । सोमबार बसेको एमाले सचिवालय बैठकबाट उनको राजीनामा स्वीकृत गरिएको एक नेताले जानकारी दिए ।
“उहाँ (केशव स्थापित) ले मैले पार्टीको काम गर्न भ्याइनँ भनेर राजीनामा दिनुभएको रहेछ,” एक नेताले भने ।
उनले केही समयअघि राजीनामा दिएका थिए । गएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उनी पराजित भएका थिए ।
एमालेले अर्का केन्द्रीय सदस्य प्रमोदनारायण यादवलाई पनि पार्टीबाट निष्कासन गरेको छ । सोही सचिवालय बैठकबाट उनलाई बिदा गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । सिरहाका यादव पार्टीमा निष्क्रिय रहेकाले निकालिएको बताइएको छ ।
स्थापित र यादवको रिक्त स्थानमा केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको गौतमले जानकारी दिए ।
यस्तै, बिदामा रहेका स्थायी कमिटी सदस्य मणि थापासित सोधपुछ गर्ने निर्णय पनि सो बैठकबाट गरिएको छ ।
Add Comment